माछापुच्छ«े मोडल ट्रेकमा धमाधम पूर्वाधार

पोखरा,१५ साउन । पर्यटनको अथाह सम्भावना रहेपनि आवश्यक पूर्वाधार तथा प्रवद्र्धन नहुँदा पछाडी परेको ‘माछापुच्छ«े मोडल ट्रेक’मा पर्यटकीय पूर्वाधार निर्माणमा स्थानीय जुटेका छन् ।

कास्कीको माछापुच्छ«े गाउँपालिका– ९ को कुइबाङबाट शुरु हुने सो पदयात्रामार्ग तीन देखी सात दिनको छ ।कुइबाङबाट सैतीघट्ट, इमु, तक्रो प्रम्धुङ, कल्था, मेरवाङ खर्क, आलङ्गे झरना, नौढोके, मेश्रम, कोरचोङ हुँदै ३६८२ मीटर उचाईमा अवस्थित भ्यु पोइन्ट पुगेर एकैपटकमा अन्नपूर्ण साउथ, अन्नपूर्ण तेस्रो, अन्नपूर्ण चौथो, गन्धर्व हिमाल, अन्नपूर्ण प्रथम, बुद्ध हिमाल, मर्दी हिमाल लगायत १० वटा हिमालहरुको दृश्यावलोकन गर्न सकिने बताईन्छ ।

कोरचोङबाट बुकेनी हुँदै दुई दिनको यात्रापछि रमणीय ‘तीन शीर’ पुग्न सकिन्छ । जनैपूर्णीमामा विगतमा तीन शीरमा मेला लाग्ने गरेको स्थानीय बुढापाका बताउँछन् । सेती, मादी र मोदी नदीको शीर भएकाले यसलाई ‘तीन शीर’ भन्ने गरिएको र यहाँ आएर श्राद्ध गरेको खण्डमा पितृले मुक्ति पाउने भन्ने विश्वासले यसको धार्मिक महिमा समेत रहेको बताईन्छ ।

वि.सं. २०५८ मा ट्रेकिङ एजेन्ट्स् एशोसियसन अफ नेपाल(टान)ले पदयात्रा मार्गको पहिचान गरी सो क्षेत्रमा पर्ने साविकका चारवटा गाविसमा साइनबोर्ड राखेर सो मार्गलाई चिनाउने प्रयास गरेपनि बीचमा त्यसको प्रवद्र्धन तथा पूर्वाधार निर्माणको कार्य अघि बढ्न सकेको थिएन ।
वि.सं. २०७३ मा स्थानीयहरुले पदयात्रामार्गमा पूर्वाधार निर्माण तथा यसको प्रचारप्रसार र व्यवस्थापनका लागि माछापुच्छ«े नमूना पैदलमार्ग व्यवस्थापन समिति गठन गरेर यसलाई पर्यटकको गन्तव्य बनाउने प्रयास शुरु गरेका थिए ।

पर्यटनका लागि आवश्यक न्यूनतम पूर्वाधार निर्माण भएकाले अब पर्यटक आगमनमा बृद्धि हुने अपेक्षा स्थानीयको छ । यहाँ आउने पर्यटकहरुका लागि आवास, खानपिन तथा बाटोको सहजताको लागि पूर्वाधार निर्माणलाई स्थानीयले प्राथमिकतामा राखेर काम गरेको समितिका सचिव कुलप्रसाद अधिकारी बताउँछन् ।

पदयात्रामार्गमा होमस्टे सञ्चालन गरेर स्थानीय उत्पादनलाई जोड दिईएको बताउँदै अधिकारीले भने,‘पर्यटका लागि पहिलो आवश्यकता भनेको पूर्वाधार हुन्, बाटो, खानेपानी तथा आवासको प्रवन्ध गरेका छौँ। तामाङ सामूदायिक होमस्टे, जाउँ है हिमाल होमस्टेमा पर्यटकले अर्गानिक उत्पादन कोदो र दूध लगायतका परिकार पाउँछन्।’

यस मार्गमा पर्नेे आलङ्गे झरना, धार्मिक महत्व बोकेको नौढोके गुफा, भैँसी गोठ भएका रमणीय खर्कहरु, बुट्यान, जङ्गलमा देखिने डाँफे, मुनाल, कालिज लगायतका पन्क्षीहरुको चिरविरले पर्यटकलाई लोभ्याउने गरेको छ ।

पदयात्रामार्गलाई सहज बनाउने उद्धेश्य अनुसार ठाउँठाउँमा आवश्यक पूर्वाधार निर्माण गरिएकोे वडा नं ९ का वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले बताए ।
प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको रु १० लाख लागतमा गत वर्ष कल्थादेखी सामुँडाँडा सम्म ६५० मिटर लामो बाटोमा ढुँगा विच्छाएर सिँढी, ठाउँठाउँमा चौतारी तथा खानेपानीको प्रवन्ध गरिएको क्षेत्रीले जानकारी दिए ।

पदयात्रामार्गका अधिकाँस अप्ठ्यारो स्थानमा बाटो मर्मत गरेर १२ महिना पैदल हिँडन सकिने बनाईएको र मेश्रम, नौढोके लगायतका स्थानहरुमा खानेपानीको प्रवन्ध गरिएको समितिका अध्यक्ष भक्तबहादुर गुरुङले बताए ।

Comments
Loading...