पोखराको पर्यटन विकास गर्न एडिबीसँग साढे चार अर्बको सम्झौता

हिमाली आवाज । नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच १६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा भएको सम्झौतामा अर्थ सचिव डा.कृष्ण हरि पुष्कर र एसियाली विकास बैङ्कको नेपाल कार्यालयका निर्देशक अर्नाउड कौकोइसिसले हस्ताक्षर गर्नुभएको हो । जसमध्ये दिगो पर्यटन विकास तथा जीवन सुधारसँग सम्बन्धित परियोजनाका लागि पोखरा महानगरपालिकासँग साढे चार अरब बराबरको सम्झौता भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।

सहरी विकास मन्त्रालयमा भएको दिगो पर्यटन विकासका परियोजनासँग सम्बन्धित सम्झौतामा परियोजना प्रमुख रोशन कुमार श्रेष्ठ र पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख आचार्य र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले हस्ताक्षर गर्नुभएको हो । परियोजना अन्तरगत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाईडसम्म फास्ट ट्र्याक निर्माण, पञ्चासे क्षेत्र विकास परियोजना, ७ ताल जोड्ने साइकल ट्रेल, बोटानिकल गार्डेन, लेखनाथ क्षेत्रमा विपद् व्यवस्थापन युनिट स्थापना तथा सञ्चालन, फिर्के कोरिडोर निर्माण लगायतका पर्यटन क्षेत्रसँग सम्बन्धित परियोजनाहरू रहेका छन् ।

यस परियोजनाले पोखराको समग्र विकासमा महत्त्वपूर्ण टेवा पुग्ने प्रमुख आचार्यले विश्वास व्यक्त गर्नुभयो । “हामी पोखरालाई छिट्टै पर्यटनको राजधानी सहर घोषणा गर्न गइरहेका छौँ, यसका सन्दर्भमा सङ्घ सरकारसँगको विभिन्न निकायहरूसँग महानगरपालिकाको तर्फबाट छलफल र संवादहरू गरिरहेका छौँ, प्रमुख आचार्यले भन्नुभयो, आज सम्पन्न दिगो पर्यटन विकास तथा जीवन सुधार सम्बन्धी परियोजनाको सम्झौता समग्र पोखराको विकास र पर्यटकीय राजधानी घोषणाका लागि कोषे ढुङ्गा साबित हुनेछ ।” सम्झौताको कार्यान्वयनका लागि महानगरपालिकाको तर्फबाट सबै प्रकारको सहयोग तथा सहजिकरण गरिने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।

महानगरपालिकाको तर्फबाट परियोजना कार्यान्वयनका लागि छुट्टै प्रोजेक्ट अफिस स्थापना गरी आवश्यक कर्मचारीहरूको व्यवस्थापन गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जानकारी दिनुभयो ।

परियोजना सञ्चालनमा नगर विकास कोष साझेदारका रूपमा रहने छ । यसअन्तर्गत १५ वटा विभिन्न परियोजनाहरू सम्पन्न गर्न कुल लागत सात अरब पचास करोड अनुमान गरिएको भए पनि पहिलो चरणमा चार अरब पचास करोड बराबरको सम्झौता भएको हो । परियोजनाका सम्बन्धमा एडिबी कार्यालयको तर्फबाट विभिन्न चरणमा स्थलगत अवलोकन समेत भइसकेको छ ।

Comments
Loading...