हिमाली आवाज। सामाजिक सेवा, मानवीय सहयोग तथा सामुदायिक विकासमा पाँच दशकदेखि योगदान पु¥याउँदै आएको लायन्स क्लब अफ पोखराले स्वर्ण महोत्सव मनाउने भएको छ । क्लबले आफ्नो स्थापनाको ५०औँ वर्ष प्रवेश गरेको अवसरमा आगामी मंसिर ४ गते विशेष कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने भएको हो ।
सन् १९७६ (वि.सं. २०३३) मा स्थापित क्लबले स्वर्ण महोत्सवका अवसरमा विशेष समारोह आयोजना गर्न लागेको स्वर्ण महोत्सव मूल समारोह समितिका मुख्य संयोजक सुशील कुमार गोशलीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उहाँका अनुसार लायन्स क्लब अफ पोखरा नेपालका छैटौँ तथा तत्कालीन पश्चिमाञ्चलको पहिलो लायन्स क्लब हो । स्थापनाकालदेखि नै सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको क्लबले आफ्नो स्वर्णिम यात्रालाई ऐतिहासिक उत्सवका रूपमा मनाउन लागेको हो ।
स्वर्ण महोत्सव समारोहमा क्लब स्थापनादेखी विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने संस्थापक सदस्य, पूर्वअध्यक्ष तथा समाजमा विशिष्ट योगदान पुर्याउने अग्रजहरुलाई सम्मान गरिनेछ । साथै क्लबको हासम्मका सामाजिक गतिविधि, उपलव्धी, ऐतिहासिक अभिलेख र लेखहरु समेटिएको स्मारिका समेत विमोचन गर्ने कार्यक्रम छ ।
सन् १९७६ मा नवराज पटेल तथा उहाँको टोलीको पहलमा पोखरामा अन्तर्राष्ट्रिय सेवामूलक संस्था लायन्स क्लब स्थापना गर्ने अभियान सुरु भएको थियो । प्रारम्भिक चरणमा पृथ्वीनारायण क्याम्पसका तत्कालीन प्रमुख तथा शिक्षासेवी जर्ज जोनलाई संस्थापक अध्यक्षका रूपमा प्रस्ताव गरिएको भए पनि उहाँ प्रशासनिक तथा शैक्षिक जिम्मेवारीमा व्यस्त रहनुभएकाले पोखराका प्रतिष्ठित व्यवसायी फणीन्द्रमान श्रेष्ठको अध्यक्षतामा क्लबलाई औपचारिक रूपमा अघि बढाइएको थियो ।
त्यस समयमा काठमाडौं र विराटनगरपछि पोखरामा लायन्स क्लब स्थापना हुनु यस क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि बनेको थियो ।
पाँच दशकको यात्रामा क्लबले शिक्षा, स्वास्थ्य, मानवीय सहायता, सामाजिक चेतना तथा समुदायको आवश्यकतामा आधारित विभिन्न सेवामूलक गतिविधिमार्फत समाजमा योगदान पु¥याउँदै आएको क्लबका अध्यक्ष डा माधव तिवारीले बताउनुभयो ।
उहाँका अनुसार स्वर्ण महोत्सव क्लबको स्थापनाको उत्सव मात्र नभई पाँच दशकको सेवायात्रा, सामाजिक रूपान्तरण र मानवीय योगदानको समीक्षा गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ ।
