हिमाली आवाज । पोखराको पुम्दी–भुम्दी क्षेत्रमा आयोजित खुला पर्वतीय दौड प्रतियोगिताको क्षेत्र विस्तार गर्दै दूरी बढाउन सुझाव दिइएको छ ।
तेस्रो खुला पर्वतीय दौड प्रतियोगिता–२०८३ को समीक्षा तथा शुभकामना कार्यक्रममा सहभागी वक्ताहरूले प्रतियोगितालाई खेल पर्यटनको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्न आगामी संस्करणदेखि दौडको दूरी बढाउनुका साथै नयाँ पर्यटकीय क्षेत्रलाई समेट्नुपर्नेमा जोड दिएका हुन् ।
प्रतियोगिता संयोजक दीननाथ बरालको अध्यक्षतामा शनिबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिका–२२ का वडाध्यक्ष हिमलाल बरालले निर्माणाधीन २७ किलोमिटर फुटट्रयाकलाई उपयोग गरी आगामी संस्करणको दौड सञ्चालन गर्न सकिने बताउनुभयो । स्थानीयवासीले प्रतियोगितालाई आफ्नै कार्यक्रमका रूपमा ग्रहण गरेको उल्लेख गर्दै उहाँले यसको निरन्तरताका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टङ्कप्रसाद ढकालले प्रतियोगिताको क्षेत्र विस्तार गरी विदेशी धावकको सहभागिता बढाउनुपर्ने बताउनुभयो । उहाँले दौडमार्गमा आवश्यक साइनबोर्ड राख्नुपर्ने सुझावसमेत दिनुभयो ।
कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले ओख्लेडाँडासम्म पुग्ने गरी दौडको दूरी विस्तार गर्न सुझाव दिनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले प्रतियोगिताको अन्तर्राष्ट्रिय पहिचान बढाउन ब्रान्डिङ र प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । प्रतिकूल मौसमलाई ध्यानमा राख्दै आगामी प्रतियोगिता अक्टोबर महिनाको पहिलो सातातिर आयोजना गर्न उहाँले सुझाव दिनुभयो ।
होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले प्रतियोगिताले खेल पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएको बताउनुभयो । सहारा क्लबका पूर्वअध्यक्ष विक्रम थकालीले खेल पर्यटनसँगै सामाजिक उद्देश्यसमेत जोडेर प्रतियोगितालाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले धावकका सामान व्यवस्थापनका लागि आगामी संस्करणमा विशेष व्यवस्था गर्नुपर्ने बताउनुभयो । हस्पिटालिटी पार्टनर मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टरका प्रमुख कार्यक्रम सञ्चालन अधिकृत प्रकाश विकले आगामी वर्ष पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । मेडिकल पार्टनर नेलम्बो नेपालका कार्यक्रम अधिकृत भीम भण्डारीले स्थापनाकालदेखि नै प्रतियोगितामा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

शुक्रराज माध्यमिक विद्यालयका प्राचार्य नरनाथ बरालले प्रतियोगिताले पुम्दी–भुम्दी क्षेत्रको खेल पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याएको बताउँदै विद्यालयका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वयंसेवक परिचालन संयोजक एवं वडा युवा परिषद् पोखरा–२२ का अध्यक्ष दिनेश बरालले अघिल्ला दुई संस्करणको तुलनामा तेस्रो संस्करणमा उल्लेख्य सुधार भएको बताउनुभयो ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव परशुराम शर्माले प्रतियोगिताले खेलाडी उत्पादन र खेल पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएको बताउनुभयो । प्रेस स्वतन्त्रताका सेनानी पदम रेग्मीले प्रत्येक वर्ष दौडमार्ग परिवर्तन गर्दा नयाँ पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
टान गण्डकीका सचिव भूपेन्द्र कुँवर लामाले प्रतियोगितालाई पोखराको ब्रान्डका रूपमा स्थापित गर्न वार्षिक क्यालेन्डरमै मिति निर्धारण गर्नुपर्ने बताउनुभयो । उहाँले टान गण्डकीको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा पर्यटन विज्ञ दीपेन्द्र पहारी, पत्रकार विजय नेपालीलगायतले प्रतियोगिताका क्रममा देखिएका सामान्य त्रुटि सुधार गर्दै अघि बढ्न सुझाव दिनुभएको थियो । पोखरा प्रवद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले पोखरा क्षेत्रको समग्र खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको बताउनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीलगायत पर्यटन, सञ्चार तथा खेलकुद क्षेत्रका सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो । प्रतियोगितामा सहयोग गर्ने विभिन्न सङ्घसंस्था तथा व्यक्तिलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो ।
विश्व पर्यटन दिवसको सन्दर्भमा आयोजना हुँदै आएको प्रतियोगिताको तेस्रो संस्करणमा खुलातर्फ नरेन्द्रसिंह रावत, महिलातर्फ दीर्पा बस्नेत, यू–१६ तर्फ कमल विक, पोखरा–२२ वडातर्फ क्रिशल परियार, भेट्रान्सतर्फ तेजबहादुर गुरुङ र विदेशी धावकतर्फ फ्रान्सका माथियस डियोन प्रथम हुनुभएको थियो ।
प्रतियोगिता पोखरा महानगरपालिका–२२ को पुम्दी–भुम्दी क्षेत्रमा आयोजना गरिएको थियो । प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेका थिए ।
प्रतियोगितामा गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका–२२, राष्ट्रिय खेलकुद परिषद्लगायत विभिन्न सङ्घसंस्था तथा व्यावसायिक प्रतिष्ठानले सहयोग गरेका थिए । नेलम्बो नेपाल मेडिकल पार्टनर, मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर हस्पिटल पार्टनर, युनाइटेड अजोड इन्स्योरेन्स बीमा पार्टनर तथा म्याजेस्टिक लेक फ्रन्ट होटल एन्ड सुइट्स हस्पिटालिटी पार्टनरका रूपमा जोडिएका थिए ।
