हिमाली आवाज । नेपाली मौलिक संस्कृति र परम्परागत देउसी–भैलोको संरक्षण गर्दै पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको फेवाताल किनारमा मौलिक देउसी–भैलो उत्सव आयोजना हुने भएको छ ।

पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका पर्यटन प्रवद्र्धन शाखा र पब्लिक फोरके टेलिभिजनको संयुक्त आयोजनामा यही कात्तिक २३ गते लेकसाइड गौरीघाटमा उत्सव हुन लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
उत्सवमा विभिन्न जातजातिका १० समूहले आ–आफ्नो मौलिक भेषभूषा, परम्परागत भाका र शैलीमा देउसी–भैलो प्रस्तुत गर्ने पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागी समूहको मौलिकता, परम्परागत शब्द, लय, ताल, भेषभूषा र सांस्कृतिक प्रस्तुतिका आधारमा प्रतियोगिता सञ्चालन हुनेछ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले देउसी–भैलो नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा भएको बताउनुभयो ।
पछिल्लो समय आधुनिकताको प्रभावले देउसी–भैलोको मौलिक स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गर्दै उहाँले पुराना भाका, शब्द र परम्परालाई नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको धारणा राख्नुभयो ।
“देउसी–भैलो हाम्रो मौलिक संस्कृति र पहिचान हो । यसको पुरानो शैली, भाका र परम्परालाई जोगाउँदै नयाँ पुस्तासम्म पु¥याउन आवश्यक छ । यस्ता कार्यक्रमले संस्कृति संरक्षणसँगै पोखरा घुम्न आउने विदेशी पर्यटकलाई नेपाली तिहार र संस्कृतिबारे प्रत्यक्ष जानकारी गराउन सहयोग पुग्छ ।” अध्यक्ष भुजेलले भन्नुभयो ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले संस्कृति संरक्षणलाई पर्यटन प्रवद्र्धनसँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो । पोखरा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली चाडपर्व, संस्कार र परम्पराबारे प्रत्यक्ष अनुभव गराउने माध्यम यस्ता सांस्कृतिक उत्सव बन्न सक्ने उहाँको भनाइ छ ।
“देउसी–भैलो मनोरञ्जनको माध्यम मात्रै होइन, यो नेपाली मौलिक पहिचान र सामाजिक एकताको प्रतीक पनि हो । उत्सवस्थलमा सयपत्री फूल र सेलरोटीका स्टलसमेत राखिने छ । यसले तिहारको सांस्कृतिक र खानपानको परम्परालाई पर्यटकमाझ चिनाउन सहयोग पुग्नेछ । ” कडरियाले भन्नुभयो ।
पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा आयोजना हुने उत्सवले पर्यटकलाई नेपाली संस्कृति नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । पोखरा घुम्न आउने पर्यटकलाई हिमाल, ताल र प्राकृतिक सौन्दर्यसँगै यहाँको मौलिक संस्कृति, चाडपर्व र जीवनशैलीसँग जोड्न सके पर्यटनको अनुभव थप समृद्ध हुने पर्यटन व्यवसायीको विश्वास छ ।
पोखरा पर्यटन परिषद्का महासचिव मिलन तिवारीले उत्सवले पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँका अनुसार पर्यटन भनेको प्राकृतिक दृश्य अवलोकनमा मात्र सीमित नभई स्थानीय संस्कृति, परम्परा, खानपान र जीवनशैलीको अनुभव पनि हो । त्यसैले यस्ता कार्यक्रमले पोखराको पर्यटनलाई थप विविधतायुक्त बनाउन सहयोग पुग्नेछ ।
प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई रु पाँच हजार पाँच सय ५५ सहित प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट हुने समूहलाई रु २५ हजार, ट्रफी र प्रमाणपत्रसहित ‘देउसी–भैलो च्याम्पियन’ घोषणा गरिने पब्लिक टेलिभिजनका पत्रकार घनश्याम पाण्डेले जानकारी दिनुभयो ।
