हिमाली आवाज । पोखरामा सबैभन्दा बढी क्षेत्रफलमा सयपत्री फूल खेती गर्दै आउनुभएका कृषक नरेन्द्रप्रसाद अधिकारी आज सम्मानित हुनुभएको छ ।
पोखरा रंगशालामा जारी पुष्प व्यापार मेला अन्तर्गत आइतबार आयोजित तेस्रो सयपत्री फूल मेलामा पोखरा–१३ का अधिकारीलाई महानगरपालिकाले नगद रु १० हजार र सम्मानपत्र सहित सम्मान गरेको हो । अधिकारीले करिव १० रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गर्दै आउनुभएको छ ।
उहाँलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ र आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले सम्मान गर्नुभएको थियो।
यस्तै, करिब तीन रोपनीमा फूल खेती गर्दै आउनुभएका कृषक सोवितबहादुर अधिकारी दोस्रो र नन्दकली घर्ती मगर तेस्रो हुनुभएको छ । दोस्रो हुनेले रु सात हजार र तेस्रो हुनेले रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभएको छ ।
मेलामा फूल उत्पादन गर्ने कृषकलाई सम्मान गर्नुका साथै माला बुन्ने प्रतियोगिता र उत्कृष्ट फूल स्टल प्रदर्शनीसमेत गरिएको थियो। दुवै विधामा रमेशकुमार श्रेष्ठ उत्कृष्ट हुनुभयो। उहाँको स्टलमा नयाँ जातको ‘टेनिस बल’ नामक सयपत्री फूलसमेत राखिएको थियो।

कृषकको मेहनत र लगनशीलतालाई प्रोत्साहन गर्दै पुष्प खेती विस्तार र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको महानगरपालिकाका उपप्रमुख गुरुङले बताउनुभयो।
यस वर्ष तिहारका लागि स्थानीय स्तरमै उत्पादन भएका सयपत्री फूलको बिक्री राम्रो भइरहेको महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख कडरियाले बताउनुभयो। उहाँका अनुसार आइतबार बिहानदेखि साँझसम्मै फूल खरिद गर्ने उपभोक्ताको भीड लागेको थियो ।
महानगरपालिकाले कात्तिक २२ गतेदेखि लागू हुने गरी सयपत्री फूलको मूल्य प्रतिकेजी रु ५०० र प्रतिमाला रु २०० निर्धारण गरेको छ । मेलामा पनि सोही मूल्यमा फूलको कारोबार भएको कडरियाले जानकारी दिनुभयो ।
स्थानीय कृषकले उत्पादन गरेका फूललाई बजारसम्म पु¥याउन महानगरपालिकाले तिहारलाई लक्षित गरी १७ वटा बिक्री केन्द्र तोकेको छ । यसबाट कृषकलाई फूल बिक्री गर्न र उपभोक्तालाई सहज रूपमा फूल खरिद गर्न सहयोग पुग्ने महानगरको अपेक्षा छ ।
त्यस्तै, स्थानीय उत्पादनको प्रवद्र्धन र वातावरण संरक्षणका लागि महानगरले प्लास्टिकजन्य फूलमाला तथा फूलगुच्छाको बिक्री, वितरण, भण्डारण र प्रयोग नगर्न आग्रह गर्दै बजार अनुगमनसमेत गरिरहेको छ ।
