पोखराका कृषकको वर्गिकरण गरेर परिचयपत्र दिइने

–कृष्ण दवाडी
हिमाली आवाज । पोखरा महानगरपालिकाले पशुपालक कृषकलाई अब परिचयपत्र दिने भएको छ । कृषकले गोठ अथवा फार्ममा पालेका पशुपक्षीको सङ्ख्याका आधारमा बर्गिकरण गरी महानगर पशु सेवा शाखाले कृषकको सम्पूर्ण विवरण सहितको परिचयपत्र वितरणको आवश्यक प्रक्रिया शुरु गरेको जनाएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषक पहिचान तथा बर्गिकरण कार्यविधि २०७५ तथा पोखरा महानगरपालिका पशु विकास अनुदान सम्वन्धी कार्यविधि अनुसार सात वटा वर्गमा कृषकको पहिचान गरी परिचयपत्र दिइने शाखाका प्रमुख नवराज अधिकारीले बताए ।
उनका अनुसार सम्वन्धित पशु सेवा केन्द्रको सिफारिसमा फार्म रहेको वडा कार्यालयमा फार्म दर्ता तथा नविकरण तथा घरेलु कार्यालयमा समेत दर्ता गरी साना कृषकदेखी माथिका बर्गिकृत कृषकहरुलाई परिचयपत्र दिइनेछ ।

महानगरले बर्गिकरणमा परेका, परिचयपत्र प्राप्त गरेका कृषकलाई मात्र चालू आवमा अनुदान दिने भएको छ ।पशु सेवा केन्द्रका प्राविधिक कर्मचारीले बर्गिकरणका लागि प्राप्त निवेदनका आधारमा कृषकको वर्ग कायम गर्नेछन् । सोही वर्गका आधारमा वडाले दर्ता गर्नेछ ।
महानगरले बर्गिकरणमा परेका, परिचयपत्र प्राप्त गरेका कृषकलाई मात्र चालू आवमा अनुदान दिने भएको छ ।

महानगरपालिकाले कृषकलाई विभिन्न सातवटा वर्गमा विभाजन गरेको छ । एउटामात्र गाई भैँसीको माउ पालेकालाई सीमान्तकृत कृषक, एक देखी चारवटा माउ हुनेलाई निर्वाहमूखी कृषक, पाँच देखी नौ वटासम्म साना कृषक तथा १० देखी २९ सम्म व्यवसायी उन्मुख कृषकमा बर्गिकरण गरेको छ ।

त्यसैगरी ३० देखी ५९ सम्म व्यवसायी कृषक, ६० देखी १४९ सम्म उद्यमी कृषक तथा १५० भन्दा माथि गाई÷भैँसीका माउ पालेकालाई विशिष्ट कृषक भनि वर्ग छुट्टाएको छ ।
त्यसैगरी दुई देखी १९ वटासम्म भेडा बाख्राका माउ पालेकालाई निर्वाहमूखी, २० देखी २९ सम्म साना कृषक, ४० देखी ९९ सम्म व्यवसायी उन्मुख,१०० देखी १९९ व्यवसायी, २०० देखी ४९९ सम्म उद्यमी तथा ५०० देखी माथि पालेकालाई विशिष्ट कृषकका रुपमा वर्गिकृत गरिएको छ ।

कुखुरापालक कृषकहरुलाई १० देखी ५० सम्म निर्वाहमूखी, ५० देखी ९९९ साना कृषक, एक हजारदेखी दुई हजार ९९९ व्यवसायी उन्मुख, तीन हजारदेखी पाँच हजार ९९९ व्यवसायी, छ हजारदेखी १४ हजार ९९९ उद्यमी र १५ हजार माथिको सङ्ख्यामा पालेकाई विशिष्टमा विभाजित गरिएको छ ।

त्यसैगरी एउटा बङ्गुर पाल्ने निर्वाहमूखी, दुई देखी तीनवटा साना कृषक,चारदेखी छ व्यवसायी उन्मुख,सातदेखी १२ व्यवसायी,१३ देखी २४सम्म उद्यमी र २५ माथि पालन गरेकालार्ई विशिष्ट कृषकमा वर्ग कायम गर्ने गरी महानगरले कार्यविधि पारित गरी स्थानीय राजपत्रमा प्रकाशित गरेको छ ।

“कृषकले पालेका पशुका आधारमा महानगरको कार्यविधिमा उल्लेख भए बमोजिम कृषकको बर्ग पहिचान गरी उनीहरुलाई परिचयपत्र वितरणको काम अघि बढाएका छौँ।”महाशाखा प्रमुख अधिकारीले भने,“पहिलोपटक शुरु गरिएको यस कार्यक्रमले अनुदान वितरण समेत पारदर्शी, वैज्ञानिक र साना कृषकलाई प्रोत्साहन गर्न सघाउने छ ।”

महानगरले परिचयपत्रका लागि आवेदन आउन शुरु भएको तथा परिचयपत्र समेत तयारी अवस्थामा रहेकाले केहीदिनभित्रै औपचारिक रुपमा सम्वन्धित व्यक्तिलाई हस्तान्तरण गरिने जनाएको छ ।

कृषक बर्गिकरण तथा परिचयपत्र वितरणबाट पशुपन्क्षीपालन व्यवसायलाई व्यवस्थित र सुदृढ तुल्याउनुका साथै पशु, पशुजन्य पदार्थको स्वस्थ्य रुपमा उत्पादन तथा विक्री वितरणमा सहयोग पुग्ने विश्वास महानगरको छ ।

यसअघि विसं २०७५ असोजमा प्रदेश सरकार मातहतको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषक पहिचान तथा वर्गिकरण कार्यविधि तयार गरी स्थानीय तहमा वर्गिकरण गर्ने योजना अघि सारेको थियो । तर वडा कार्यालयहरुमा यसका लागि आवश्यक छुट्टै जनशक्ति नहुँदा सो कार्यले आशातित सफलता पाउन सकेको छैन ।

परिचयपत्रमा कृषकको नाम,स्थायी ठेगना,सम्पर्क नं, फर्मको नाम,ठेगना, नागरिकता नं,महानगरको करदाता नं,कृषक बर्गिकृत पहिचान तथा प्यान÷भ्याट नं उल्लेख भएको हुनेछ ।

Comments
Loading...