पत्रकार महासंघको साधारणसभा : सम्मान र पत्रकारिता पुरस्कार अर्पण

हिमाली आवाज । हिमाली आवाज डटकमका सम्पादक कृष्ण दवाडी आज पोखरामा सम्मानित हुनुभएको छ ।

नेपाल पत्रकार महासंघ कास्की शाखाको १५ औँ साधारणसभाको अवसरमा उहाँ सहित अन्य सञ्चारकर्मीहरुलाई राष्ट्रिय सभाका  अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्मान तथा पत्रकारिता पुरस्कार अर्पण गर्नुभएको थियो ।

महासंघ कास्की शाखाको विसं २०७३ देखी २०७७ सम्म कार्य समिति सदस्य रहेर उत्कृष्ट कार्य सम्पादन गरेबापत समाचारदाता दवाडीलाई महासंघले उत्कृष्ट सदस्य सम्मान २०७७ बाट नगद रु १० हजार तथा सम्मानपत्रले सम्मान गरेको हो । पत्रकार दवाडी राष्ट्यि समाचार समिति(रासस)को कास्की जिल्ला समाचारदाता समेत रहनुभएको छ ।

यसैगरी अग्रज पत्रकार एवं महासंघ कास्की शाखाका पूर्व अध्यक्ष नारायण कार्की र्कीति स्मृति वृत्ति सम्मानबाट सम्मानित हुनुभएको छ । सो सम्मानको राशी नगद रु एक लाख ११ हजार १११ रहेको छ । 

यसैगरी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०७६ बाट महासंघ कास्की शाखाका पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली सम्मानित हुनुभयो । सो सम्मानको राशी रु ५५ हजार ५५५ छ ।

गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार २०७७ बाट भरत कोइराला, जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कार २०७६ बाट अर्जुन गिरी, जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कार २०७७ बाट भीम थापा, मिना सृजनशिल पत्रकारीता पुरस्कार २०७६ बाट रोशनी गुरुङ, टंकादेवी तलुुसीप्रसाद पत्रकारिता पुरस्कार २०७६ बाट कमल पोडैल अथक र २०७७ बाट मोतिसागर अधिकारी पुरस्कृृत हुनुभयो । यसैगरी आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार गोविन्द सुवेदी पुरस्कृत हुनुभएको सचिव रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

यसैगरी पोखरा पत्रकारिता सम्मानबाट यस बर्ष संस्थागत रुपमा सूर्यप्रेम बहुउद्धेश्य समाज सेवा ट्रसलाई सम्मान गरियो भने महासंघका कार्यालय प्रमुख जगत कार्कीलाई दीर्घ सेवा सम्मान रु १० हजार सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले प्रतिनिधि सभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला सबैले मान्नुपर्ने बताउनुभएको थियो । उहाँले चुनावलाई प्रेरित गर्ने खालका समाचार प्रशारण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले कोरोना महामारी लगायतका नाममा सञ्चारगृहबाट पत्रकारमाथि भैरहेका अन्याय तथा शोषणका विरुद्धमा महासङ्घ निरन्तर सङ्घर्ष गरिरहेको बताउनुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्वद्धय नारायण कार्की, महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेल, महासङ्घ कास्कीका पूर्व अध्यष माधव शर्मा, प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, उपाध्यक्ष विमला भण्डारी लगायतले श्रमजीवि पत्रकारको हकहितमा महासङ्घको भूमिका विषयमा आ आफ्ना धारणा राख्नुभयो । साधारणसभाले सचिव रामप्रसाद तिमिल्सिना र कोषाध्यक्ष सञ्जय मल्लले प्रस्तुत गर्नुभएको सचिव तथा कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।

Comments
Loading...