राष्ट्रिय फुटबल टोलीको पोखरा आगमनले खेल क्षेत्रमा उत्साह

कृष्ण दवाडी
हिमाली आवाज । पर्यटकीय शहर पोखरा पछिल्ला वर्षहरुमा खेल पर्यटनको गन्तव्य समेत बनेको छ । वर्षभरीनै यहाँ खेलकूद गतिविधि सञ्चालन हुने गर्दछन् ।

रङ्गशालाको ४२५ रोपनी जमीनमा फुटबल, क्रिकेट,भलिबल, टेनिस, आर्चरी लगायतका सबै खेलका पूर्वाधार एउटै थलोभित्र रहेकाले पोखरा रङ्गशाला ‘स्पोर्टस् कम्प्लेक्स’ समेत बनेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी यहाँ हुने खेल प्रतियोगिता खेल्न आउँछन् । गत वर्ष सम्पन्न सागपछि पोखराले विश्व खेलकूदको मानचित्रमा समेत आफूलाई स्थापित गरेको छ ।

‘खेलकूदको हब’ पोखरामा कोभिड–१९ ले भने लामो समय खेल क्षेत्रलाई शुन्यतामा पु¥यायो । राष्ट्रिय खेलकूद परिषद्(राखेप)ले मङ्सिर पहिलो साता खेल गतिविधि तथा प्रशिक्षण सुचारु गर्ने निर्णय गरे पनि विगतका वर्षहरुमा सञ्चालन हुने फुटबल, क्रिकेट, भलिबल लगायत खेलका प्रतियोगिताले अझै निरन्तरता पाउन सकेको छैन । रोकिएका ठूला प्रतियोगिताहरु सञ्चालन हुने नहुने दुविधा अझै छ ।

खेलकूदको उर्वर भूमिमा लामो समय प्रतियोगिता शुन्य प्राय रहेका अवस्थामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि यतिबेला पोखरा आएको छ ।

आगामी विश्वकप फुटबल तथा एशियन कप छनोटको तयारीमा रहेको राष्ट्रिय टोलीले शुक्रबारसाँझदेखी पोखरा रङ्गशालाभित्रको फुटबल मैदानमा प्रशिक्षण सञ्चालन गरेको छ । सिनियर राष्ट्रिय टोली बन्द प्रशिक्षणका लागि लामो समयपछि यहाँ आएको हो ।
कोरोनाले खेल क्षेत्र प्रभावित भएका बेला एक दशकपछि राष्ट्रिय फुटबल टोली यहाँ आएर प्रशिक्षण शुरु गरेपछि पोखराका खेलकर्मी उत्साहित बनेका छन् ।
कोभिड–१९ ले शुन्यतामा पु¥याएको खेल क्षेत्रलाई माथि उठाउन राष्ट्रिय टोलीको प्रशिक्षणले सघाउ पुग्ने र खेलकूद नगरीमा विस्तारै खेलकूद चलायमान हुने विश्वास पोखरेलीको छ । यसबाट पोखराको खेल पर्यटन प्रवद्र्धन हुने विश्वास छ ।

पोखरामा १९ वर्षदेखी निरन्तर आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शुुरु भएपछि पोखरा कोभिडबाट सुरक्षित रहेको र अब खेलकूद गतिविधि अघि बढाउन सकिन्छ भन्ने माहोल सिर्जना भएको बताउनुभयो ।आफूहरुलाई समेत आहा रारा गोल्डकपका लागि तयारी अवस्थामा लाग्नु पर्दछ भन्ने सन्देश मिलेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,“राष्ट्रिय टोलीको प्रशिक्षण यहाँ सञ्चालन हुनु पोखराका लागि महत्वपूर्ण छ । यहाँको प्रवद्र्धन, खेलकूद प्रतियोगिता सुचारु र पोखरा सुरक्षित रहेको सन्देश प्रवाह गर्न सघाउ पुग्दछ ।”

विगतमा स्तरीय पूर्वाधार अभावमा महत्वपूर्ण प्रतियोगिता सञ्चालन नभएको अवस्थामा गत वर्ष सम्पन्न १३ औँ सागलाई लक्ष्य गरी निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाले अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम भएको भनाई अध्यक्ष थापाको छ ।

नेपालले एक दशकअघि पाकिस्तान र भुटानसँग पोखरामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसपछि लामो समय राष्ट्रिय टोलीको खेल यहाँ हुन सकेको छैन । आगामी चैतमा हुने विश्वकप छनोटका बाँकी खेलका लागि राष्ट्रिय टोलीले डेढ महिना काठमाडौँमा कृत्रिम मैदानमा प्रशिक्षण गरेको थियो ।

पोखरामा नवर्निमित प्राकृतिक मैदानमा अभ्यास गर्न पाएपछि खेलाडी समेत उत्साहित छन् । गत वर्ष घरेलु प्रतियोगिता खेल्न आउँदा भन्दा अहिले मैदान राम्रो पाएपछि खेलाडी सन्तुष्ट छन् ।राष्ट्रिय टोलीका सिनियर खेलाडी विराज महर्जन पोखरामा आरामदायी मैदान र वातावरणमा प्रशिक्षण गर्न पाउँदा सबै खेलाडीले रमाइलो महशुस गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“पोखरामा अभ्यास गर्न पाउँदा टिमका सबै खेलाडी उत्साहित छौँ । यहाँको प्रशिक्षणले घरेलु मैदानमा हुने वल्र्ड कप छनोट खेलमा राम्रो गर्न हौसला मिल्नेछ, राखेप र एन्फाले यससँगै विदेशी भूमिमा समेत ‘एक्सपोजर म्याच’ र ‘ट्रेनिङ’को व्यवस्था गरे अझै राम्रो हुन्थ्यो ।”
टोलीमा रहेका अधिकाँस खेलाडी २३ र १९ वर्षमूनिको रहेकाले समेत उनीहरुलाई मैत्रीपूर्ण खेलको आवश्यक रहेको बताउँदै विराजले सिनियर जुुनियर टोलीले कम्विेनेशनबाट टोलीको मनोवल उच्च रहेको उल्लेख गर्नुभयो ।

नेपाली टोलीलाई प्रमुख प्रशिक्षक बालगोपाल महर्जन र सहायक प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षण गराउनुभएको छ । टोलीले तीन महिनाअघिनै काठमाडौँ बाहिर ट्रेनिङको योजना बनाएको थियो ।पोखरा आगमन र प्राकृतिक मैदानमा अभ्यासको राम्रो वातावरणबाट खेलाडी खुःशी भएको प्रमुख प्रशिक्षक महर्जनले बताउनुभयो ।

उहाँले भन्नुभयो,“घरेलु मैदानमा राम्रो नतिजाका लागि टोलीले तयारी गरिरहेको छ । काठमाडौँ बाहिर लगेर प्रशिक्षण गराउने योजना अनुसार पोखरा आएका छौँ । यहाँको अभ्यासले टोलीको मनोवल उच्च बनाउने छ ।” विश्वकप छनोट प्रतियोगिता अघि टोलीलार्ई विदेशमा प्रशिक्षण र मैत्रीपूर्ण खेलका लागि खाडी मुुलुकहरुसँग कुराकानी भइरहेको प्रशिक्षक महर्जनले जानकारी दिनुभयो ।

राष्ट्रिय टोली आगामी माघ २१ गतेसम्म पोखरामा रहेर प्रशिक्षण गर्नेछ । पर्यटकीय शहर पोखरामा राष्ट्रिय टोलीलाई नयाँ वातावरणमा ‘रिफ्रेसमेन्ट’ सहितको प्रशिक्षण गराउने एन्फाको योजना छ । एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापाले खेलाडीलाई मनोवैज्ञानिक रुपमा खुःशी र तयार बनाउनका लागि स्तरीय मैदानमा अभ्यास तथा खान, बस्नका लागि राम्रो सुविधा उपलव्ध गराइएको बताउनुभयो ।

पोखरा बसाइ र प्रशिक्षणले खेलाडी खेलमा राम्रो गर्न उत्प्रेरित हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो,“खेलाडी खुःशी भएपछि मात्र खेलमा रिजल्ट पनि राम्रो आउँछ ।”सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एशियन कपको छनोट चरणका बाँकी तीन खेल नेपालले चाइनिज ताइपेईसँग चैत १२ गते र अष्ट्रेलियासँग चैत १७ गते खेल्दैछ भने जोर्डनसँग जेठमा खेल्नेछ ।

Comments
Loading...