सार्दिखोला स्वास्थ्य चौकीमा १० बेडको आइशोलेशन स्थापना गरिने, सहकारीबाट नगद सहयोग

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ मा अवस्थित सार्दीखोला बचत तथा ऋण सहकारी संस्थाले सार्दिखोला स्वास्थ्य चौकीमा आइशोलेशन सेन्टर निर्माणका लागि रु ५४ हजार ९७५ सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष सर्वजित गुरुङ, कोषाध्यक्ष राम प्रसाद आचार्य, लेखा संयोजक मिरा आचार्य र व्यवस्थापक वेगनाथ पौडेलले सार्दीखोला स्वास्थ्य चौकीका अहेव शिव बहादुर के.सी र टोल सुधार समितिका अध्यक्ष ओम प्रसाद गुरुङलाई सो रकम आज हस्तान्तरण गर्नुभएको थियो ।

सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरिएको सहकारीले जनाएको छ । विगमा पनि सहकारीबाट गरीव तथा विपन्न श्रम गरेर जीवन निर्वाह गर्ने श्रमजीवीहरुलाई राहत वितरण गरिएको थियो ।

अस्पताल लैजानु अघि कोरोना सङ्क्रमितको प्राथमिक उपचार स्वास्थ्य चौकीमा हुन सकोस् र महामारीको दोश्रो लहरको कारण उत्पन्न परिस्थितिको सामना स्वास्थ्य चौकीमा १० श्ययाको आइशोलेसन सेन्टर स्थापना गर्ने तयारी गरिएको छ ।

गत वैशाख ३१ गते वडा समिति, टोल सुधार समिति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएत विभिन्न सामाजिक संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थितिमा बसेको संयुक्त बैठकले कोरोना महामारीको दोश्रो लहरको कारण उत्पन्न परिस्थितिको सामना गर्न १० शैयाको आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो । हाल सार्दीखोला स्वास्थ्य चौकीमा आइसोलेन निर्माण जारी छ ।

आइशोलेशनका लागि वडामा क्रियाशील सङ्घ संस्था तथा व्यक्तिहरुबाट सहयोग रकम संकलन भइरहेको स्वास्थ्य चौकीका इन्चार्र्ज केसीले बताउनुभयो ।

पछिल्लो केही दिनयता वडामा कोरोना सङ्क्रमित बढेसँगै सजगता अपनाइएको र परीक्षणका दरलाई तीव्रता दिइएको स्वास्थ्य चौकीले जनाएको छ ।

Comments
Loading...