गण्डकी प्रदेश सरकारले पायो पूर्णता, काँग्रेस र माओवादीबाट छ मन्त्री थपिए

हिमाली आवाज । गण्डकी प्रदेश सरकारले आज पूर्णता पाएको छ । सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेस र माओवादीबाट केन्द्रबाट तीन÷तीन जना गरी छ जना मन्त्री थपिएसँगै सरकारले पूर्णता पाएको हो । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख समक्ष आजनै पद तथा गोपनियताको शपथ लिनुभयो ।

नवनियुक्त मन्त्रीहरुमा माओवादीबाट रामजीप्रसाद बराल अर्थ, दीपक चर्तिमगर वन तथा वातावरण र चन्द्रबहादुर बुढा कृषि तथा सहकारी हुनुहुन्छ ।नेपाली कांग्रेसबाट वागलुङका मणिभद्र शर्मा कँडेल उद्योग पर्यटन, कास्कीका विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश मामिला र स्याङ्जाका मेखलाल श्रेष्ठले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

यसअघि सामाजिक विकासमन्त्री नियुक्त कुमार खड्को जिम्मेवारी परिर्वतन भएको छ । उहाँले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।

योसँगै गण्डकी प्रदेश सरकार ११ सदस्यीय भएको छ । यसअघि नै कांग्रेसबाट कुमार खड्का, जनता समाजवादीका हरिशरण आचार्य, माओवादीकी मधुमाया अधिकारी गुरुङ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गरी चारजना मन्त्री नियुक्त हुनुभएको थियो ।

गत जेठ २९ गते नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएपनि सरकारलाई समर्थन गरेका दलहरुबीच मन्त्रालय भागबण्डा नमिल्दा सरकारले पूर्णता पाउन सकेको थिएन ।

सत्ताको नेतृत्व गरेको काँग्रेस र प्रमुख सत्ता साझेदार माओवादी केन्द्रकाबीचमा हिजो साँझ मन्त्रालय भागबण्डामा सहमति जुटेपछि मन्त्रिपरिषद् विस्तार गरिएको हो ।

Comments
Loading...