ग्रामीण भेगमा स्वास्थ्यकर्मी पठाउन थप प्रोत्साहन : मुख्यमन्त्री पोखरेल

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै ठाउँमा सुलभ स्वास्थ्य सेवा प्रवाहका लागि सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

बागलुङको गलकोट नगरपालिका ५ हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले जनशक्ति व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो ।

कोरोना महामारीको नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले पु¥याएको योगदानको कदर गर्दै मुख्यमन्त्री पोखरेलले कोरोनाकै कारण प्रदेशको स्वास्थ्य संरचनामा सुधार भएको उल्लेख गर्नुभयो । संरचनागत रुपमा भवनहरु भए पनि स्वास्थ्य उपकरण र जनशक्ति अभाव भएकोबारे आफू जानकार रहेको भन्दै मुख्यमन्त्री पोखरेलले यो समस्या समाधानका लागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘मुख्य सहरवाहेक अन्तका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा दिने चिकित्सक पु¥याउन सकिएको छैन, विशेष प्रोत्साहन दिएर भए पनि हामी उनीहरुदलाई ग्रामीण भेगामा पठाउँछौं ।’

कार्यक्रममा प्रदेश सभा सदस्य एवं राष्ट्रिय जनमोर्चाकी नेतृ पियारी थापाले नेपालको शैक्षिक प्रणालीकै कारण स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति पाउन नसकिएको भनाइ राख्नुभयो ।

गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरैले करिब ४ वर्षको अवधिमा स्थानीय सरकारले सक्दो काम भन्दै यसको मूल्यांकन नागरिकले गर्ने बताउनुभयो । अस्पतालको स्तरोन्नती र सञ्चालनका लागि कार्यापालिकाबाट निर्णय गरे पनि प्रदेश र संघका कार्यालयमा पुग्दा अलमल हुने गरेको उल्लेख गर्नुभयो । उपमेयर रेनुकुमारी काउचा मगरले सिमित स्रोत र साधनका बीच पनि आफूहरुले कार्यसम्पादन गर्दै आएको बताउनुभयो ।

३ बेडका लागि स्वीकृति पाएको भए पनि अहिले अस्पतालमा १५ बेड चालु छ । ८ रोपनी जमिनमा ७ करोड लगानीमा स्वास्थ्य केन्द्रको भवन निर्माण भएको हो । २ जना मेडिकल अधिकृतसहित १४ कर्मचारी कार्यरत संस्थामा मासिक १२ सयको हाराहारिमा बिरामी उपचारका लागि आउने गरेका छन् ।

मेडिकल अधिकृत डा. सन्देश मल्लले अहिले स्वास्थ्य केन्द्रमा एक्सरे, एम्बुलेन्स, इसिजी, ल्याबसहित २४ सै घन्टा इमरजेन्सी सेवा सञ्चालन हुँदै आएको बताउनुभयो ।

 

Comments
Loading...