माछापुच्छ्रे वडा नं ९ को आफ्नै कार्यालय भवन निर्माण, डेढवर्षपछि उद्घाटन

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका–९ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको डेढवर्षपछि उद्घाटन गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख वैनबहादुर अधिकारी र गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले मंगलबार संयुक्त रुपमा भवन उद्घाटन गर्नुभयो ।

जिल्ला समन्वय समिति कास्की र गाउँपालिकाको लागत साझेदारीमा रु ९९ लाख ९० हजार लागतमा दुई तलाको भवन निर्माण गरिएको हो । भवन डेढवर्षअघि सकिएर नयाँ भवनबाट कार्यालयको सेवा प्रवाह गरिएको थियो ।

भवन निर्माणमा जिल्ला समन्वय समितिको रु ५९ लाख ९४ हजार ६४ तथा गाउँपालिकाको रु ३९ लाख ९६ हजार लगानी रहेको सोही वडाका वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले बताउनुभयो । वडाध्यक्ष क्षेत्रीले सुविधासम्पन्न भवन निर्माणपछि सेवा प्रवाहमा सहज भएको बताउनुभयो ।

उहाँका अनुसार कोरोना संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउन, २५ जनाभन्दा बढी भेला हुन नपाउने सरकारी मापदण्ड लगायतका कारणले उद्घाटनमा ढिलाई भएको हो ।

वडाध्यक्ष क्षेत्रीले भन्नुभयो,“आफ्नै कार्यालय भवन भएपछि सेवाग्राहीलाई सहज भएको छ । विशेषगारी कोभिडका कारणले उद्घाटनमा ढिलाई भएपनि अहिले सहज भएकाले उद्घाटन गरेका हौँ ।”

दुई तलाको भवनको तल्लो तलामा छ कोठा तथा माथिल्लो तलामा सभाहल सहित तीन कोठा छन् । भवन अपाङ्गमैत्री समेत छ ।भवन निर्माणका लागि स्थानीयवासी आइबहादुर तामाङ र श्रीकुमारी तामाङले एक रोपनी जग्गा निःशुल्क उपलव्ध गराउनुभएको थियो ।

कार्यक्रममा समन्वय प्रमुख अधिकारीले माछापुच्छ्रे गाउँपालिका सहित कास्कीका पाँच वटै पालिकाका प्रशासकीय भवन र वडा कार्यालय भवन निर्माणमा समन्वय समितिले लगानी गरेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी दवाडी लगायतले भवन निर्माणले सेवा नागरिकलाई सहज भएको बताउनुभएको थियो ।

माछापुच्छ्रे गाउँपालिकाको आधुनिक र सुविधासम्पन्न प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाका केन्द्र वडा नं ४ लाहाचोकस्थित सानोपाटन(साहुथर)मा १० रोपनी क्षेत्रफलको जमिनमा रु छ करोड ६२ लाख ११ हजार ९०६ लागतमा गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । भवनको फिनिसिङ र रंगरोगनको काम भइरहेको छ ।

Comments
Loading...