‘माछापुच्छ्रेले कोल्टो फेर्ने योजना नीति कार्यक्रम र बजेटमा आउनुपर्दछ’

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटका लागि सुझाव संकलन सुरु गरेको छ। संविधानत स्थानीय सरकारले असार १० गते भित्रमा बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार गाउँपालिका नीति कार्यक्रमसँगै बजेट बनाउने तयारीमा जुटेको हो ।

गाउँपालिकाले आगामी वर्षका कार्यक्रममा समेट्नुपर्ने विषयहरुका बारेमा सम्बन्धित विषयमा राम्रो ज्ञान हासिल भएकाहरुसँग सुझाव लिइरहेको छ । सोमबार पनि राजनीतिक दल, महिला, ज्येष्ठ नागरिक तथा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग व्यवसाय लगायत विभिन्न विषयगत क्षेत्रका प्रतिनिधिहरुबाट सुझाव लिइएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताउनुभयो । प्राप्त सुझावहरुकै आधारमा आगामी वर्षको नीति कार्यक्रम बनाइने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,“हामी नीति कार्यक्रम तथा बजेट बनाउनेतर्फ केन्द्रित भएका छौँ । सकभर सबै पक्षसँग आगामी नीति कार्यक्रमका विषयमा सुझाव लिएर समृद्ध माछापुच्छ«े बनाउने लक्ष्यलाई कार्यान्वयन गर्ने कार्यक्रम ल्याउने छौँ ।”गाउँपालिकाले उपलव्ध साधन स्रोतको दिगो र अधिकतम उपयोग गर्दै समृद्ध माछापुच्छ«ेका लागि काम गर्नुपर्ने सहभागीहरुको सुझाव छ । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा बजेट केन्द्रीत गर्नुपर्नेमा सुझाव दिइएको छ ।

आगामी पाँच वर्षका अवधिमा गाउँपालिकाले विकासमा कोल्टो फेर्ने गरी नयाँ आएका जनप्रतिनिधिहरुले काम गर्नुपर्नेमा सहभागीहरुले जोड दिनुभयो ।उद्योगी यदुनाथ अधिकारीले स्थानीय कच्चा पदार्थको उपयोग गरेर उद्योग व्यवसाय स्थापना गर्न सकिने प्रचुर सम्भावना भएकाले त्यसतर्फ ध्यान दिन सुझाव दिनुभयो । उहाँले कृषि वन पैदावारमा आधारित कच्चा पदार्थबाट उद्योग स्थापना र रोजगारी सिर्जना गर्न सकिने भएकाले त्यसतर्फ नीति कार्यक्रम र बजेट विनियोजन गर्न आग्रह गुर्नभयो ।

पूर्व जनप्रतिनिधि गोपाल गिरीले कृषि, शिक्षा, पर्यटन र स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । मर्दी हिमाल लगायतका क्षेत्रमा बढ्दै गएको पर्यटन विकासलाई गाउँपालिकाले नियमन गर्दै पालिकाको दायरामा ल्याउनुपर्ने उहाँको सुझाव छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख तोयनाथ लम्सालले सरकारी विद्यालयको शिक्षा सुधार्ने कार्यक्रम नीति कार्यक्रममा समेट्न आग्रह गर्नुभयो । शैक्षिक पूर्वाधारसँगै प्रविधिलाई अनुसरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।प्राध्यापक मिनराज लम्सालले समानुपातिक विकासमा जोड दिन आग्रह गर्नुभयो । उहाँले शैक्षिक गुणस्तर सुधारका योजना समेट्न आग्रह गर्नुभयो ।

रोमर्हषण पौडेलले सरकारी विद्यालयका प्रधानाध्यापकलाई अभिप्रेरित र उत्प्रेरित गर्ने कार्यक्रम ल्याउन पालिकालाई सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति विरेन्द्र गुरुङ, नेकपा(एमाले)का उपाध्यक्ष केशव पोखरेल, माओवादी केन्द्रका उपाध्यक्ष गोपाल पोखरेल, प्राध्यापक महेश्वर पोखरेल, खेलाडी लेखनाथ लम्साल लगायतले समानुपातिक सबै क्षेत्रको विकासमा ध्यान दिने गरी बजेट ल्याउन सुझाव दिनुभएको थियो ।

आगामी वर्ष गाउँपालिकाले उत्पादन र रोजगारी वृद्धि गर्ने खालका र समयमै कार्यान्वयन हुने योजनालाई आगामी वर्षमा प्राथमिकता दिने भएको छ । वितरणमुखी भन्दा पनि नतिजा दिने खालका योजनामा बजेट विनियोजन गरिने गाउँपालिकाले जनाएको छ ।गाउँपालिकामा पर्यटन, कृषि र जलस्रोतको विकासको अधिक सम्भावना भएकाले प्राकृतिक स्रोतको उपयोग गर्दै त्यसलाई पालिकाको विकासमा लगाइने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ माछापुच्छ«ेमा उपलव्ध प्राकृतिक स्रोतको उपयोग गर्दै कृषि र पर्यटनका माध्यमबाट स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउने कार्यक्रम ल्याउने छौँ । नौ वटै वडाको समानुपातिक विकासलाई ध्यान दिइनेछ ।” गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले स्थानीय आयआर्जनमा सघाउने खालका सीपमुलक कार्यक्रममा जोड दिने नीति रहेको बताउनुभयो ।

Comments
Loading...