नवौँ राष्ट्रिय खेलकुद:पोखरामा कार्यकारी समितिको सचिवालय स्थापना

– कृष्ण दवाडी
हिमाली आवाज । नवौँ राष्ट्रिय खेलकुदको आवश्यक प्रशासनीक र व्यवस्थापकीय कामका लागि पोखरामा मूल आयोजका समिति कार्यकारी समितिको सचिवालय स्थापना गरिएको छ ।

पोखरा रङ्गशालाभित्रको बहुृउद्धेश्शीय कभर्ड हलमा स्थापना गरिएको सचिवालयको आज सङ्घीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा तय भएको राष्ट्रिय खेलकुदका लागि गर्नुपर्ने आवश्यक सबै प्रशासनिक र तयारीका सबै काम सोही सचिवालयबाट हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं कार्यकारी समितिका सचिव टङ्कलाल घिसिङले बताउनुभयो ।

सचिवालयमा आवश्यक जनशक्ति व्यवस्थापन गरिने र यसलाईनै प्रतियोगिताभरका लागि मुख्य काम गर्नेस्थल बनाइने उहाँले बताउनुभयो ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री गहतराजलले सङ्घ, प्रदेश र स्थानीय सरकार तीनै तहको संयुक्त प्रयासबाट राष्ट्रिय खेलकुदलाई सफल बनाइने बताउनुभयो । राष्ट्रिय खेलकुद आयोजना गर्ने संवैधानिक जिम्मेवारी केन्द्रीय सरकारको भएपनि समग्र भूमिका सोही ठाउँको प्रदेश र स्थानीय सरकारको रहने खेलकुदमन्त्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ खेलकुदको सबैभन्दा ठूलो महोत्सव राष्ट्रिय खेलकुदलाई सफल बनाउनु समग्र भूमिका आयोजनास्थल रहेको प्रदेश र स्थानीय सरकारको हुन्छ । त्यसैले गण्डकी सरकार र पोखरा महानगरपालिकासँग मिलेर प्रतियोगिता सम्पन्न गर्ने दृढ सङ्कल्प गरेका छौँ ।”

मन्त्री गहतराजले ३९ वर्षपछि हुन लागेको राष्ट्रिय खेलकुद पोखरा र गण्डकीका लागि महत्वपूर्ण अवसर बन्ने भन्दै यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रिय खेलकुदको महाअभियानलाई सफल बनाउन कार्यकारी समितिको सचिवालयले प्रभावकारी भूमिका निभाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि विशेष महत्व राख्ने राष्ट्रिय खेलकुद गण्डकीको राजधानी पोखरामा हुनु गौरवको विषय रहेकाले यसलाई सम्पन्न गर्न तीनै तहका सरकारका संयुक्त प्रयत्नबाट काम गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ४० वर्षपछि हुन लागेको प्रतियोगिता आयोजनाको महत्वपूर्ण अवसर प्राप्त भएकाले खेलकुदका माध्यबाट पोखरालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन थप टेवा पुग्ने बताउनुभयो ।

स्थानीय सरकारले राम्रो हुँदा जस र नराम्रो हुँदा अपजस समेत लिनुपर्ने भएकाले सानो भन्दा सानो कामलाई पनि व्यवस्थित गरी पाहुनाका लागि राम्रो आतिथ्यता प्रदान गरिने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

नवौँ राष्ट्रिय खेलकुदका लागि पोखरामा अहिले तयारीका काम अघि बढाइएको छ । खेलाडी प्रशिक्षण, खेलस्थल अवलोकन निरीक्षण तथा निर्माणाधीन खेल पूर्वाधारलाई सम्पन्न गर्न लागिएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

Comments
Loading...