राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडी गण्डकी प्रदेश सरकारबाट सम्मानित

हिमाली आवाज । गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता गण्डकीका खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले नगद सहित सम्मान गरेको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा आज पोखरा रङ्गशालामा आयोजित कार्यक्रममा पदक विजेता खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकहरुलाई सम्मान गरिएको हो ।

राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल एकल तथा टिमतर्फ गरी कुल ७२ जना, रजत पदक विजेता ९२ जना र कास्य पदक विजेता १६० जना गरी ३२४ जना खेलाडीलाई सम्मान गरिएको हो । प्रतियोगितामा समावेश ३६ खेल मध्ये गण्डकीले २८ खेलमा पदक जितेको थियो ।
गण्डकी राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक नवौँमा सातै प्रदेश मध्ये प्रथम स्थान प्राप्त गर्न सफल थियो भने समग्रमा विभागिय टिम पश्चात चौथो स्थान प्राप्त गरेको थियो ।

यसैगरी खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ जना र २८ खेलसङ्घहरुलाई समेत सम्मान गरिएको छ । असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ७६ कास्य पदक जितेको थियो ।

प्रदेश सरकारले राष्ट्रिय खेलकुदमा एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद रु १८ हजार, रजतलाई रु १२ र कास्य पदक विजेतालाई रु आठ हजार प्रदान गरेको छ । यसैगरी टिममा स्वर्ण पदक विजेतालाई नगद जनही रु नौ हजार, रजततर्फ रु छ हजार र कास्य पदक विजेतालाई रु चार हजार सहित सम्मान गरिएको हो ।

यसैगरी प्रशिक्षकतर्फ स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमश जनही नगद रु दस हजार, आठ हजार र छ हजार प्रदान गरिएको थियो ।
टिमका व्यवस्थापकलाई जनही नगद रु आठ हजार, छ हजार र चार हजार प्रदान गरिएको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिनुभयो ।

खेल सङ्घतर्फ स्वर्ण पदक विजेतालाई नगद रु ४० हजार, रजत पदक विजेतालाई नगद रु ३० हजार र कास्य पदक विजेता सङ्घलाई नगद रु २० हजार प्रदान गरेको छ  नवौँमा ‘रेकर्ड व्रेक’ गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद रु १० हजार सहित सम्मान गरिएको थियो ।

पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल सङ्घहरुलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, परिषदका उपाध्यक्ष ध्वज कुमार गुरुङ, नेपाली सेनाका पश्चिम पृतनापति दीपक बानियाँ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Comments
Loading...