एकल महिलाको कथा ‘बगान’,शुक्रबारदेखी रिलिज हुँदै

हिमाली आवाज । आगामी शुक्रबारबाट रिलिज हुने ‘बगान’ एकल महिलाको कथा भएको निर्देशक एवम् कलाकार सरोज खनालले बताउनुभएको छ । चलचित्र पत्रकार संघ कास्कीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एकल महिलाहरुको कथालाई उठान गरिएको जानकारी दिनुभयो ।

‘बगान एकल महिलाको कथा हो । हाम्रो समाज पितृसतात्मक समाज हो । अझै पनि एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन । बगानमा यस्तै सामाजिक विषयलाई उठाएका छौं ।’ उहाँले भन्नुभयो ।

एकल महिलाका कथालाई दबाएर राख्न हुदैन भन्ने लागेर नै बगान बनाइएको भनाई उहाँको छ । खनालले समाजमा पछाडि परेको विषयलाई अगाडि ल्याउने उद्देश्य सहित सिनेमा निर्माण गरिएको जनाउनुभयो ।

दर्शकले नेपाली कथावस्तुलाई नै मन पराएकाले बगान चल्नेमा विश्वास गरिएको छ । समाज भन्दा बाहिरका सिनेमा हलमा नचलेको र अर्गानिक कथावस्तुलाई नै रुचाइएको उहाँले बताउनुभयो ।

अभिनेत्री करिश्मा मानन्धरले बगान आफ्ना लागि महत्वपूर्ण सिनेमा भएको उल्लेख गर्नुभयो । उहाँले बगान समाजको ऐना भएको उल्लेख गर्नुभयो । ‘बगान समाजको ऐना हो । एकल महिलाले भोग्नुपरेका पीडा लाई उजागर गर्न सिनेमाले मदत पुर्याएको छ । समाजले बुझ्ने र आफ्नोपनको महशुस गर्ने गरी सिनेमा निर्माण भएको छ ।’ उहाँले भन्नुभयो ।

पोखराका दर्शकले आफु र आफ्ना सिनेमालाई सदैव माया गरेको र बगानलाई समेत माया गर्नेमा आशावादी रहेको उनले बताउनुभयो ।
बगानमा सरोज खनाल, करिश्मा मानन्धर, प्रमिला कार्की अलवा आकाश श्रेष्ठ, निर शाह, बसुन्धरा भूसाल, मिथिला शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।

सुरेश वाग्ले बगानका निर्माता हुनुहुन्छ । सिनेमाको यसअघि टिजर, ट्रेलर र गीत सार्वजनिक भइसकेको छ । केही समयको मोफसल दौड पश्चात बगान टीमले मंगलबार काठमाडौंमा प्रिमियर गर्दैछ ।

Comments
Loading...