हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिमा जनयुद्धका शहीद तथा बेपत्ताका परिवारजनलाई आज सम्मान गरिएको छ ।
शहीद सप्ताहको अवसर पारेर नेकपा(माओवादी केन्द्र) माछापुच्छ्रे गाउँपालिका समितिले शहीद तथा बेपत्ताका परिवारसँग भेटघाट तथा सम्मान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाभरका सहिद परिवार तथा बेपत्ता योद्धाका परिवारहरूलाई दोसल्ला प्रदान गरिएको थियो। साथै, परिवारजनका अनुभव र सम्झनाहरू साझा गरिएका थिए।
नेपालको महान जनयुद्धमा बलिदान पु¥याएका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूको सम्मानमा माछापुच्छ्रे गाउँपालिकाले सहिद सप्ताह २०८१ को अवसरमा विशेष भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

कार्यक्रममा जनयुद्धको गौरवशाली इतिहासलाई स्मरण गर्दै सहिद परिवारहरूलाई सम्मान प्रदान गरिएको हो। माओवादी केन्द्रको ऐतिहासिक परम्परा अनुसार, सहिदहरूले देखाएको बलिदानको सम्मान गर्दै समाजवाद र समृद्ध नेपाल निर्माणको अभियानलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि एबम नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामजी प्रसाद बराल, केन्द्रीय सदस्य दुर्गा विक, आसमान रोका, पार्टी जिल्ला संयोजक विश्वप्रकाश लामिछाने, गाउँपालिका समितिका अध्यक्ष गोपाल पोखरेल लगायतले परिवारजनलाई सम्मान गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथि नेता बरालले सहिदहरूको योगदानले आजको लोकतान्त्रिक गणतन्त्र सम्भव भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“सहिदको सपना पूरा गर्न हामीले समाजवादको आधार निर्माण गर्ने योजनाका साथ अघि बढ्नुपर्ने छ। यो सम्मान कार्यक्रम केवल औपचारिकता होइन, यो बलिदानप्रति हाम्रो नमन र संकल्पको प्रतिक हो।”
कार्यक्रममा सहभागी स्थानीय जनताले सहिदका सपना साकार पार्न सरकार र पार्टी नेतृत्वले अझ जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा गाउँपालिका कमिटीका अध्यक्ष गोपाल पोखरेलले सहिदहरूको योगदानलाई सम्झनु र सम्मान गर्नु भनेको केवल विगतको स्मरण मात्र होइन भन्दै समावेशी, समतामूलक र समाजवादी नेपालको आधार निर्माणमा प्रतिबद्धताको नवीकरण पनि हो भन्नुभयो ।
उहाँले नेकपा (माओवादी केन्द्र) माछापुच्छ्रे गाउँपालिकाले सहिदहरूको सपना साकार पार्न संघर्ष र विकासको यात्रामा अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।