हिमाली आवाज । पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी –२० पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि कास्की र नवलपुर भिड्ने भएका छन् । प्रतियोगिताको फाइनल खेल मंगलबार विहान हुनेछ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न खेलमा कास्कीले स्याङ्जालाई र नवलपुरले तनहुँलाई पराजित गरी फाइनलमा स्थान बनाएका हुन् ।
कास्कीले सात विकेटले स्याङ्जालाई हराउन सफल भएको थियो । मौसमका कारण पाँच ओभरमा खेलाइएको खेलमा कास्कीले पाँच विकेट गुमाएर ४३ रन जोडेको थियो ।
कास्कीका शिवरिन श्रेष्ठले सर्वाधिक २२ रन बनाए । जवाफी ब्याटिङ गरेको स्याङ्जाले निर्धारित ओभरमा ३६ रन मात्र बनाउन सक्यो ।
यसैगरी नवलपुरले तनहुँमाथि एक सय दुई रनको फराकिलो अन्तरले जित निकाल्न सफल भयो ।नवलपुरले टस जितेर व्याटिङ रोज्दै २० ओभरमा सात विकेट गुमाउंदै एक सय ८८ रन जोडेको थियो ।
‘प्लेयर अफ दी म्याच’ बन्न सफल नवलपुरका रिजन काफ्लेले ४७ बलमा ७३ रन जोड्दै जितको आधार बनाएका थिए । जितका लागि एक सय ८९ रनको लक्ष्य फ्छाएको तनहुँले १४ ओभरको चौथो बलमा ‘अलआउट’ हुँदै जम्मा ८६ रन मात्र बनाउन सक्यो ।
गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धनमा यही जेठ १ गतेदेखी प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको ‘समूह ए’ मा कास्की, स्याङ्जा, बाग्लुङ र लमजुङ तथा ‘समूह बि’ मा नवलपुर, पर्वत, तनहुँ र म्याग्दी गरी आठ जिल्लाले सहभागिता जनाएका प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।
