गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो

हिमाली आवाज । नेपाली क्रिकेटमा नयाँ पुस्ताका प्रतिभा खोज्ने लक्ष्यसहित पोखरामा सञ्चालन भएको गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको उपाधि नवलपुरको भीमसेन आदर्श माध्यमिक विद्यालयले जितेको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा स्याङ्जाको भगवती माध्यमिक विद्यालयलाई ६८ रनले पराजित गर्दै भीमसेन च्याम्पियन बन्न सफल भयो ।
खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको भीमसेनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो ।
टोलीका लागि पंकज यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४८ बलमा पाँच चौका र चार छक्काको मद्दतले ६७ रन बनाए । उनले ‘प्लेयर अफ द म्याच’को उपाधिसमेत जिते । शैलेश काफ्ले अविजित ३० रन तथा सुशील भुसालले २० रनको योगदान दिए ।
भगवती माध्यमिक विद्यालयका लागि स्वपनिल भट्टराईले चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिए भने आयुष पाण्डेले एक विकेट हात पारे ।
जितका लागि एक सय ६५ रनको लक्ष्य पछ्याएको भगवती १९ ओभरमा सवै विकेट गुमाएर मात्र ९६ रन बनाउन सक्यो । भुवन डुम्रेले सर्वाधिक ४९ रन बनाए ।
भीमसेन आदर्शका बलरहरू खेलमा प्रभावशाली देखिए र जितका लागि महत्वपूर्ण योगदान दिए । आयान भुर्तेलले चार विकेट लिए भने सुशील भुसाल र शैलेश काफ्ले समान दुई÷दुई विकेट लिए । यस्तै रिदम रिजालले एक विकेट हात पारे ।
च्याम्पियन नवलपुरको भिमसेन आदर्श माध्यमिक विद्यालय राष्ट्रिय प्रतियोगिताका लागि छनोट समेत भएको छ ।
विजयी टिम तथा खेलाडीहरुलाई आयोजक प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
यही जेठ २२ गतेबाट सुरु भएको प्रतियोगिताले विद्यालय तहबाटै क्रिकेटको जग बलियो बनाउने, ग्रामिण तथा जिल्लास्तरमा लुकेका प्रतिभालाई राष्ट्रिय मञ्चसम्म पु¥याउने र भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुगेको आयोजक संस्थाका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।
प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, नवलपुर, स्याङ्जा र पर्वत जिल्लाका उत्कृष्ट विद्यालय टोलीको सहभागिता थियो ।
जिल्ला स्तरीय छनोट प्रतियोगिताको विजेता विद्यालयहरु प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भएका थिए ।
प्रतियोगितामा कास्कीबाट डायमण्ड सेकेन्डरी स्कूल, नवलपुरबाट भिमसेन आदर्श माध्यमिक विद्यालय, स्याङ्जाबाट भगवती माध्यमिक विद्यालय तथा पर्वतबाट मंगलोदय माध्यमिक विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

Comments
Loading...