हिमाली आवाज । कास्की जिल्ला क्रिकेट संघले क्रिकेट क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका राष्ट्रिय खेलाडी, प्रशिक्षक, अम्पायर, अफिसियल तथा मैदान कर्मचारीलाई सम्मान गरेको छ।
पोखरामा आज आयोजित संघको चौथो अधिवेशन तथा छैटौँ साधारणसभाको अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कास्कीको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।

नेपाली राष्ट्रिय क्रिकेट टोलीसम्मको यात्रा तय गरेका पुरुषतर्फ अर्जुन कुमाल र महिलातर्फ रचना चौधरीलाई जनही रु १० हजार नगद, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरियो।
त्यसैगरी, नेपाल ‘ए’ पुरुष राष्ट्रिय टोलीका सदस्य विपिन खत्री तथा नेपाल अण्डर–१९ टोलीका खेलाडी सुभाष भण्डारी, सिब्रीन श्रेष्ठ र सोहेल कुँवरलाई प्रशंसापत्र, दोसल्ला र जनही रु सात हजार नगद प्रदान गरिएको थियो।
खेलाडी प्रोत्साहन पुरस्कारअन्तर्गत कृष्ण पौडेल, रोहित चन्द, यशोदा भुजेल र चन्द्रमाया बराल सम्मानित भए। उनीहरूलाई प्रमाणपत्र, माला तथा जनही रु पाँच हजार नगदसहित पुरस्कृत गरिएको थियो।
कार्यक्रममा नेपाली महिला राष्ट्रिय टोलीका सहायक प्रशिक्षक रिजन प्रजू, अन्तर्राष्ट्रिय अम्पायर सञ्जयकान्त सिग्देल तथा अन्तर्राष्ट्रिय स्कोरर आशिष बराललाई अन्तर्राष्ट्रिय अम्पायर÷प्रशिक्षक सम्मान प्रदान गरियो।
क्रिकेटको विकासमा योगदान पु¥याएका प्रशिक्षक ऋषिकेश शर्मा पौडेल, विधान श्रेष्ठ र विजय राउत तथा अम्पायर अर्जुन उपाध्याय र दुर्गा बहादुर चन्दलाई बधाई ज्ञापन गरिएको थियो। साथै, गण्डकी प्रदेश खेलकुद परिषद्को बोर्ड सदस्यमा नियुक्त भएका पूर्व खेलाडी रबिन्द्र बहादुर प्रजूलाई विशेष सम्मान गरिएको थियो ।
उत्कृष्ट योगदान दिने मैदान कर्मचारीतर्फ क्युरेटर प्रदीप राउत, मैदान कर्मचारी सीता विक र माया विक सम्मानित हुनुभयो । प्रशिक्षकतर्फ दीपेश खत्री, विधान श्रेष्ठ, गोविन्द प्रधान र ऋषिकेश शर्मा पौडेललाई मायाको चिनो र मालासहित सम्मान गरिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले कास्कीमा क्रिकेटको विकासमा खेलाडी, प्रशिक्षक, अम्पायर, अफिसियल तथा सहयोगीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा क्रिकेटलाई अझ व्यावसायिक, व्यवस्थित र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कास्की क्रिकेट संघका अध्यक्ष सञ्जय कान्त सिग्देलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा क्यानका केन्द्रिय सदस्य सुदिप शर्मा, पूर्व अध्यक्ष दीपक काेइरला खेलकुद परिषदका सदस्य रविन्द्र बहादुर प्रजु, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, जिल्ला खेलकुदका उपाध्यक्ष तिलक बहादुर अधिकारीलगायतले कास्की क्रिकेटले पछिल्लो समय गरेको प्रगतीको प्रशंसा गर्दै आगामी दिनमा समेत सो लयलाई कायम गर्न नयाँ र सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जाेड दिनुभयाे ।
सोही अवसरमा संघले कास्कीको क्रिकेट विकास यात्रालाई समेटेर प्रकाशन गरेको विशेष स्मारिकाको समेत विमोचन गरेको थियो ।
