कास्कीका सात स्थानमा सञ्चालनमा आयो यात्रु सहायता कक्ष स्थापना

हिमाली आवाज । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नजिकिँदै गरेको बडा दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्लाका विभिन्न सात स्थानमा नागरिक÷यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने तथा बढी भाडा असुली, टिकटमा कालोबजारी, ठगी, चोरी तथा डकैती लगायतका समस्या हुनसक्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न सहायता कक्ष स्थापना गरिएको निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक यामनाथ पनेरुले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखराको पृथ्वीचोकस्थित पोखरा बसपार्क, पोखरा–३१ बेगनास बसपार्क, वडा नं. २७ तालचोक, वडा नं १७ छोरेपाटन बरको बोट, वडा नं. स्थित टुरिष्ट बसपार्क, वडा नं. २ मा अवस्थित बाग्लुङ बसपार्क र वडा नं. १ को हरिचोकमा यात्रु सहायता कक्षा स्थापना गरिएका छन् ।
सहायता कक्षमार्फत यात्रुलाई आवश्यक सूचना तथा सहजीकरण प्रदान गर्नुका साथै यात्राका क्रममा देखिएका समस्या र गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको पनेरुले बताउनुभयो ।
यात्रु सहायता कक्षको शुभारम्भ गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङले सार्वजनिक यातायातमा यात्रुले भोग्न सक्ने समस्या र अवाञ्छित गतिविधिका विषयमा सहायता कक्षबाट आवश्यक समन्वय र सहजीकरण हुने बताउनुभयो ।

“चाडपर्वको समयमा पोखरा तथा कास्कीका विभिन्न स्थानबाट घर फर्किने र बाहिरबाट पोखरा आउने यात्रुको संख्या उल्लेख्य हुने भएकाले यात्रुको सुरक्षा र सहज यात्राका लागि प्रहरी परिचालनलाई समेत प्रभावकारी बनाइएको छ । सहायता कक्षमा खटिने प्रहरीले यात्रुलाई गन्तव्यसम्म सुरक्षित रूपमा पुग्न आवश्यक जानकारी तथा सहयोग उपलब्ध गराउने छन् । ” प्रजिअ गुरुङले भन्नुभयो ।

सहायता कक्षमा यात्रुले आफूलाई परेको समस्या वा गुनासो राख्न सक्नेछन् । साथै, यात्रुको सुरक्षामा असर पार्ने कुनै गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउनसमेत प्रहरीले आग्रह गरेको छ ।

चाडपर्वका बेला यात्रुको चापसँगै सवारीसाधनको आवागमनसमेत बढ्ने भएकाले दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्राथमिकतामा राखेर प्रहरी परिचालन गरिएको कास्कीका प्रहरी प्रमुख नविन कार्कीले बताउनुभयो।

“क्षमताभन्दा बढी यात्रु राख्ने, तीव्र गतिमा सवारी चलाउने, तोकिएभन्दा बढी भाडा लिने वा अन्य कुनै किसिमको गैरकानुनी गतिविधि भएमा नजिकैको प्रहरी वा सहायता कक्षमा जानकारी गराउन यात्रुले सक्नेछन् । प्रहरीले चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउका लागि सुरक्षा योजना बनाएको छ । ”प्रहरी प्रमुख कार्कीले भन्नुभयो ।

सहायता कक्षको स्थापनाले यात्रुको गुनासो तत्काल सुन्ने, आवश्यक सूचना उपलब्ध गराउने तथा समस्या परेका यात्रुलाई तत्काल प्रहरीको पहुँचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चाडपर्वका अवसरमा घर तथा गन्तव्यतर्फ यात्रा गर्ने सर्वसाधारणले टिकट तथा भाडाका विषयमा सचेत रहन, अपरिचित व्यक्तिले दिएको सामान नलिन तथा आफ्ना साथमा रहेका महत्वपूर्ण कागजात, नगद तथा सामानको सुरक्षा आफैँले गर्न प्रहरीले अनुरोध गरेको छ ।

Comments
Loading...