हिमाली आवाज । पर्वतको फलेवास नगरपालिका–११ मा कार्यरत हेभी इक्युपमेन्ट अपरेटर विशाल वि.क.माथि व्यवसायी अनुज कुँवरले हेल्मेट प्रहार गरी टाउकोमा चोट पुर्याएको घटनाप्रति नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ पोखराले गम्भीर ध्यानाकर्षण जनाएको छ।
अपरेटर संघका अध्यक्ष किशोरप्रसाद गौतम र सचिव कृष्णप्रसाद पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा २०८३ असोज २२ गते फलेवास नगरपालिका–११ मा कार्यरत अपरेटर वि.कमाथि व्यवसायी कुँवरले हेल्मेट प्रहार गरी टाउकोमा चोट पुर्याएको घटनाबारे जानकारी प्राप्त भएको जनाएको हो।
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघले श्रम गर्ने क्रममा कुनै विवाद वा असमझदारी उत्पन्न भए त्यसको समाधान आपसी संवाद, छलफल तथा कानुनी प्रक्रियामार्फत गरिनुपर्नेमा जोड दिएको छ। अपरेटरमाथि भौतिक आक्रमण गर्नु गम्भीर र निन्दनीय विषय भएको संघको भनाइ छ।

संघका अनुसार हेभी इक्युपमेन्ट अपरेटरहरू निर्माण क्षेत्रका महत्वपूर्ण जनशक्ति हुन्। जोखिमपूर्ण अवस्थामा श्रम, सीप र समय दिएर उनीहरूले विकास निर्माणमा योगदान पुर्याउँदै आएका छन्। त्यसैले अपरेटर भएकै कारण अपमान, धम्की, दुर्व्यवहार वा कुटपिटजस्ता व्यवहार कुनै पनि अवस्थामा स्वीकार्य नहुने संघले स्पष्ट पारेको छ।
संघले आफू कानुन हातमा लिने वा कुनै किसिमको अराजक गतिविधिको पक्षमा नरहेको जनाएको छ। तर आफ्ना सदस्य तथा सम्पूर्ण हेभी इक्युपमेन्ट अपरेटरहरूको हक, हित, सम्मान, सुरक्षा र न्यायका लागि कानुनी तथा शान्तिपूर्ण ढंगबाट दृढतापूर्वक आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ।
घटनाको सत्यतथ्य छानबिन गरी पीडित अपरेटरले उपचार तथा न्याय पाउने वातावरण निर्माण गर्न सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराइएको संघले जनाएको छ।
