पोखरामा स्कुल बस दुर्घटनामा मृत्यु भएका र घाइतेको विवरण खुल्यो

हिमाली आवाज । कास्कीको पोखरा महानगरपालिका–२८ कालिका ओख्लेको भिरमा आज विहान स्कुल बस दुर्घटना हुँदा चार जना विद्यार्थी सहित पाँच जनाको मृत्यु भएको छ । घटनामा १४ जना घाइते भएका छन् ।
सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस आज बिहान ६ः३३ बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा पोखरा महानगरपालिका–२८ माझठानाकाकी कक्षा १० मा अध्ययनरत १३ वर्षीया ममता तिवारी, सोही ठाउँ र कक्षामा अध्ययनरत १४ वर्षीय अशिम कँडेल, १४ वर्षीया रुमिका नेपाली र माझठानाकै कक्षा १० मा पढ्ने सुवेच्छा तिवारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले जानकारी दिनुभयो ।
यसैगरी लिफ्ट मागेर सोही बसमा सवार भएका पोखरा महानगरपालिका–२८ निवासी ६५ वर्षीय बाबुराम तिवारीको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूमा पोखरा महानगरपालिका–२८ सौर्यकी कक्षा १० मा अध्ययनरत १६ वर्षीया सृष्टी तिवारी, सोही ठाउँका सोही कक्षामा अध्यनरत १६ वर्षीय शिसन थापा मगर र डाँडागाउँका १६ वर्षीय कक्षा १० मा अध्यनरत सौगात तिमिल्सिना रहेका छन् । उनीहरूको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत घाइतेमध्ये माझठानाकी १५ वर्षीया अस्मी कँडेलको अवस्था गम्भीर रहेको छ ।
यसैगरी मादी गाउँपालिका–१२ पहिरेकी १४ वर्षीया स्नेहा खत्री, पोखरा–२८ माझठानाकी १३ वर्षीया सोनिया तिवारी, १३ वर्षीय अंकित पराजुली, मादी–१२ पहिरेकी १५ वर्षीया स्मृति खत्री, पोखरा–२८ माझठानाकी १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीया आकृती बुढाथोकी, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया सुप्रिया आचार्य र १६ वर्षीय यमन मगर घाइते भएका छन् । उनीहरू सबैको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
बस चालक पोखरा महानगरपालिका–१५ निवासी ५७ वर्षीय तुलबहादुर गुरुङको ढाड र छातीमा चोट लागेको छ । उहाँको अवस्था मध्यम रहेको छ ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी निरीक्षक सन्तोष पौडेलको कमान्डमा सात जना, जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानको कमान्डमा ट्राफिक प्रहरीसहित १५ जना तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ हेक्वा कालिका गण पोखराबाट सशस्त्र प्रहरी नायब निरीक्षक बलराम गौतमको कमान्डमा १० जनाको टोली उद्धारमा खटिएको थियो ।

Comments
Loading...