हिमाली आवाज । नेपाल निर्माण व्यवसायी संघ, कास्कीका संस्थापक अध्यक्ष एवं शहीद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा आज पोखरामा उहाँलाई स्मरण गरिएको छ ।नेपाल निर्माण व्यवसायी संघ, कास्कीको आयोजनामा सम्पन्न स्मृति कार्यक्रममा गौचनको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
कार्यक्रममा सहभागी निर्माण व्यवसायी क्षेत्रका अग्रज व्यक्तित्वहरूले गौचनले निर्माण व्यवसायको संस्थागत विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा संगठनको सुदृढीकरणमा पु¥याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए । निर्माण व्यवसायको विकास र व्यवसायीहरूको अधिकारका लागि उनले देखाएको मार्ग तथा योगदान सदैव स्मरणीय रहने उनीहरूको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार विष्णुराज कोइराला, उपाध्यक्ष खिमप्रकाश मल्ल, गण्डकी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष टंकराज बराल,संघका पूर्वअध्यक्ष चिरञ्जिवि पोखरेल, निवर्तमान अध्यक्ष सुरेश श्रेष्ठले निर्माण व्यवसायको क्षेत्रमा गौचनले पु¥याएको योगदान, समर्पण र बलिदानलाई स्मरण गर्दै उहाँको विचार र आदर्शले आगामी पुस्तालाई समेत प्रेरणा प्रदान गरिरहने बताउनुभएको थियो ।

संघका कार्यवाहक अध्यक्ष प्रेम पहारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका कोषाध्यक्ष हिरामणि पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने सचिव डम्बरराज ढकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
सोही अवसरमा संघको निर्माण व्यवसायी कल्याणकारी कोषकाे नियमानुसार ७० वर्ष उमेर पूरा भएका तीन जना अग्रज निर्माण व्यवसायीलाई आर्थिक सहयोग स्वरूप जनही रु एक लाख ५० हजारका दरले चेक हस्तान्तरण गरिएको सघका सचिव ढकालले बताउनुभयाे । चेक प्राप्त गर्नेमा पि.आर.ओ. कन्स्ट्रक्सनका परशुराम ओझा, राखु भगवती कन्स्ट्रक्सनका मुक्तिनाथ सुवेदी र रूप निर्माण सेवाका खड्गबहादुर श्रेष्ठ रहनुभएको छ ।
नेपाल निर्माण व्यवसायी संघ, कास्कीले गौचनको योगदान र बलिदानलाई सदैव स्मरण गर्दै निर्माण व्यवसायको संस्थागत विकास तथा व्यवसायीहरूको हकहित संरक्षणका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
