पोखराका होटल सञ्चालनको तयारी

पोखरा,१४ साउन । बन्दाबन्दीका कारणले ठप्प पोखराका होटल व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

सरकारले साउन ६ गतेबाट जनजीवन र आर्थिक गतिविधिलाई चलायमान बनाउन पूर्ण सुरक्षा सावधानी अपनाउँदै लकडाउन अन्त्य गरेर साउन १५ देखि होटल, रेस्टुरेन्ट तथा पर्यटन व्यवसाय सञ्चालनको अनुमति पछि यहाँका व्यवसायी व्यवसाय सञ्चालनको तयारीमा जुटेका हुन् ।

पश्चिमाञ्चल होटल सङ्घ पूर्वतयारीमा जुट्न मातहतका सदस्य व्यवसायीलाई आग्रह गरेको छ । सङ्घका अध्यक्ष विकल तुलाचनले चार महिनादेखि पोखराका होटल सञ्चालन गर्ने गरी तयारीमा जुट्न आह्वान गरिएको बताए ।

कोरोना सङ्क्रमणको अवस्थामा पर्यटकको आगमनमा शून्य रहेको हुँदा यो समयलाई सदुपयोग गर्दै प्रमुख पर्यटकीय सिजनलाई लक्षित गरी त्यस समयमा आगमन हुने पाहुनालाई भयरहित वातावरणको सुनिश्चिता गर्न संघले सबै व्यवसायीमा समेत आग्रह गरेको छ ।

लामो समयको बन्दाबन्दीले गर्दा व्यवसायीहरू मानसिक तथा आर्थिक रूपमा दबाबमा परेका कारण व्यवसायलाई गति दिन केही समय लाग्ने भएपनि क्रमिक रुपमा व्यवसाय सञ्चालनको तयारी व्यवसायीले गरेका छन् ।

सरकारले होटल व्यवसाय सहित भाद्र १ गते देखि लामो दूरीका यातायात सेवा, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा पुनः सञ्चालन गर्न सेवा प्रदायकलाई अनुमति दिएको छ ।

Comments
Loading...