काँग्रेस केन्द्रीय सदस्यमा भरतराज ढकालको उम्मेदवारी

हिमाली आवाज । नेपाली काँग्रेसका लोकप्रिय युवा नेता भरतराज ढकालले पार्टीको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको छ । युवा उद्यमी तथा सफल बैकर्स ढकालले खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज (मंगलबार) केन्द्रीय पदाधिकारी र सदस्यमा मनोनयन दर्ता गर्ने समयसिमा तोकिएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–६ फापरथुमका स्थानीय ढकाल लामो समयदेखि बालबालिका, वातावरण, सहकारी, बैंक तथा वित्तीय संस्था र कृषि क्षेत्रमा काम गर्दै आउनुभएको छ ।

विद्यार्थी राजनीति हुँदै १०औं महाधिवेशनदेखि काँग्रेसको राजनीतिमा सक्रिय हुँदै आउनुभएका ढकालले खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएपछि उत्साह थपिएको नेपाली काँग्रेसका केन्द्रीय एक पदाधिकारीले बताए । विभिन्न क्षेत्रमा सफलता हासिल गर्दै ढकाल जस्ता काविल पात्रहरु काँग्रेसको राजनीतिमा आउनु काँग्रेसका लागि हितकर र संगठनका लागि उर्जा र देशको उज्वल भविश्यको ढोका खोलिएको अर्थमा बुझ्नुपर्ने उहाँको भनाई छ ।

२०५७ सालमा अनाथ तथा गरिब बालबालिकाको संरक्षणका लागि स्याङ्जामा सहारा बालगृह, २०५९ मा रोयल सहकारी स्थापाना गरी सहकारी अभियान सञ्चालन गरेका ढकालले २०६३ सालमा मुक्तिनाथ विकास बैंक स्थापना गर्दै विगत डेढ दशकदेखि नेपालको वित्तीय क्षेत्रमा अभुतपूर्व सफलता हासिल गर्नुभयो । उहाँ नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाका संस्थापक सदस्य समेत हुनुहुन्छ ।

पछिल्लो एक दशकदेखि मुक्तिनाथ कृषि कम्पनीमार्फत कृषि क्षेत्रमा मूल्य–श्रृंखला र रोजगारी सृजनाको अभियान चलाएका ढकालले औद्योगिक विकाससँगै वातावरणमा आएको परिवर्तनले पारेको वातावरणीय प्रभावका बारेमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका मञ्चमा नेपाल पक्षको वकालत गर्दै आएका आउनुभएको छ । जेनजी विद्रोहपछि काँग्रेसको विशेष महाधिवेशनमा सक्रिय ढकाल प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा स्याङ्जा क्षेत्र नं.–१ का काँग्रेसका उम्मेदवार बन्नुभएको थियो ।

निजी क्षेत्रले विगतदेखि भोग्दै आएका समस्यालाई नीतिगत रुपमा सुल्झाउने साझा मुद्दा उठाउन आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको ढकालले बताउनुभयो । बालबालिकाको पोषण, युवाको शिक्षा र रोजगारी, वृद्धवृद्धाको स्वास्थ्य, निजी क्षेत्रको समस्या, देशको आर्थिक अवस्थामा सुधार ल्याउन जति सकिन्छ, क्षमताले भ्याएसम्म काम गर्न लागि केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उहाँको भनाई छ ।

Comments
Loading...