दोस्रो संस्करणको हेमजा साहित्य महोत्सव सकियो

हिमाली आवाज । पोखरा महानगरपालिका–२५ हेमजामा दोस्रो संस्करणको ‘हेमजा साहित्य महोत्सव’ आज सम्पन्न भएको छ ।
‘काव्यनगरी’का रुपमा परिचित हेमजामा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन साहित्यिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले शनिबारदेखी सुरु भएको महोत्सव सकिएको हो ।

हेमजा साहित्य प्रतिष्ठानले साहित्य महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिएको थियो । महोत्सवमा कविता, आख्यान, गैरआख्यान, गजल, मुक्तक, लघुकथा, साहित्यिक विमर्श, काव्यवाचन तथा पुस्तकमाथि परिचर्चा लगायत कार्यक्रम समावेश गरिएको प्रतिष्ठानका अध्यक्ष सुनिल गायकले बताउनुभयो ।

‘कविता : अनुभूति र अभिव्यक्ति’ शीर्षकमा साहित्यिक कार्यक्रम, ‘काव्यनगरी हेमजा: साहित्यिक पर्यटनको सम्भावना’, ‘सारङ्गीको सुसेली ः लोकसंस्कृतिको धुन’ र ‘भजनमा हेमजा’ शीर्षकमा विमर्श महोत्सवमा भएको थियो । महोत्सवमा देशका विभिन्न भागबाट आउनुभएका विभिन्न कलाकार तथा साहित्यकारहरुले कविता, मुक्तक र गजल वाचन गर्नुभएको थियो ।

साहित्य महोत्सव समापन गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले सडक, खानेपानी, पूर्वाधार विकास जस्तै साहित्य, भाषा, कला संस्कृतिको समेत विकास गर्नुपर्ने दायित्व र जिम्मेवारी स्थानीय सरकारको रहेको बताउनुभयो ।

उहाँले पोखराको कला संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि महानगरले प्रज्ञा प्रतिष्ठान गठन गरेर काम गरिरहेको बताउँदै काव्य नगरि घोषणा गरिएकामा खुशी व्यक्त गर्नुभयो ।
“काव्य नगरि घोषणापछि हेमजा साहित्यका लागि जानै पर्ने गन्तव्य भएको छ । अव काव्य र साहित्यको वरिपरि नहिँडि सुखै छैन । घोषणा अनुसार विकासका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालिन योजना बनाएर अघि बढ्नुहोला, महानगर साथमा छ । ” प्रमुख आचार्यले भन्नुभयो ।
कवि एवं भाषाशास्त्री मुकुन्दशरण उपाध्यायले हेमजामा जन्भिएर पोखरालाई चिनाउनका लागि महत्वपूर्ण ‘प्राकृत पोखरा’ काव्य दिनुभएको र जीवनको उत्तरार्थसम्म सिर्जनामा लागि परेर साहित्यको उन्नयनमा योगदान गरेकामा उहाँले आभार व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका महासचिव कोविदशरण उपाध्यायले साहित्यिक गतिविधिसँगै हेमजाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक मौलिकता र पर्यटनको सम्भावनालाई समेत उजागार महोत्सवले गरेको बताउनुभयो । “हेमजाको साहित्यिक गरिमा, प्राकृतिक सौन्दर्य र सिर्जनात्मक सम्भावनालाई राष्ट्रियस्तरमा परिचित गराउन र थप स्थापित गर्न धेरै सहयोग पुगेको छ ।” उहाँले भन्नुभयो ।

महोत्सव संयोजक कृष्णप्रसाद पौडेलले समग्र हेमजाको साहित्यिक पहिचान, सामाजिक गौरव र सांस्कृतिक समृद्धिसँग जोडिएको साझा अभियानका रुपमा महोत्सव आयोजना गरिएको बताउनुभयो ।
सोही अवसरमा भाषाशास्त्री मुकुन्दशरण उपाध्यायको अभिनन्दन ग्रन्थ तथा हिमशिखरको २७ औँ अङ्क लोकार्पण गरिएको थियो ।

Comments
Loading...