आदर्श कप फुटबल २३ माघदेखि प्रतियोगिता, आठ टोली सहभागी हुने

हिमाली आवाज ।  कास्कीको लेखनाथमा आगामी माघ २३ गतेदेखि २७औँ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता फागुन १ गतेसम्म सञ्चालन हुने आयोजक आदर्श युवा क्लबले जनाएको छ।

फस्ट च्वाइस फुड्स लिमिटेड, रूपन्देहीको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगितालाई आयोजकले ‘ऐतिहासिक २७औँ आदर्श कप–२०८३’ नाम दिएको छ। प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहने क्लबले जनाएको छ।

‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताको तयारी तीव्र पारिएको क्लबले जनाएको छ।

क्लबका उपाध्यक्ष सन्तोष गुरुङले प्रतियोगिता सफल बनाउन विभिन्न सङ्घसंस्था, व्यवसायी तथा खेलप्रेमीबाट सहयोग प्राप्त हुने अपेक्षा गरिएको बताउनुभयो। उहाँले प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्नुका साथै स्थानीयस्तरमा फुटबल खेलको विकास र विस्तारमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

क्लबका अध्यक्ष विष्णु हमालले आदर्श युवा क्लब खेलकुदको विकाससँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि निरन्तर सक्रिय रहँदै आएको बताउनुभयो। उहाँले फुटबलको प्रवर्द्धन, खेलाडीको क्षमता विकास र समग्र खेल क्षेत्रको उन्नयनमा क्लब प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको आदर्श कपले लेखनाथ क्षेत्रको फुटबल विकास र खेलकुद गतिविधि प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको छ। प्रतियोगितालाई यस वर्ष पनि भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने लक्ष्य आयोजकले लिएको छ।

Comments
Loading...