बाढी पहिराले गण्डकीमा १८६ पूर्वाधार आयोजनामा क्षति

अवरुद्ध सडक तत्काल सुचारु गर्न समितिको निर्देशन

पोखरा,१६ साउन । लगातारको वर्षाका कारण आएको बाढी पहिराका कारण गण्डकी प्रदेशमा सडक,पुल, खानेपानी तथा सिँचाइका गरी १८६ योजनामा क्षति पुगेको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार वर्षाका कारण प्रादेशिक तथा स्थानीय तहका केन्द्र जोड्ने ३४ सडक, दुई वटा झोलुङ्गे पुल, सिँचाई नहर ९५ तथा खानेपानीका ५५ आयोजनामा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क रहेको छ ।

मन्त्रालयले प्राथमिकताका आधारमा क्षति पुगेको आयोजनाको मर्मत कार्य अघि बढाइने बढाइने बताउँदै ती पूर्वाधारका योजना सुचारु गर्नका लागि मात्र रु १० करोड बजेट आवश्यक पर्ने मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले बिहीबार समिति बैठकमा प्रदेशमा भौतिक पूर्वाधारमा पु¥याएको क्षतिबारे भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतसँगको छलफलमा समितिले स्थानीय तह जोड्ने, प्रादेशिक तथा सङ्घीय सरकारको दायित्वभित्र रहेका सडकहरु समेत तत्काल मर्मत गरी व्यवस्थित रुपमा अघि बढाउन निर्देशन समेत दिएको छ ।

समितिका सभापति दीपक कोइरालाले भौतिक पूर्वाधार पुगेको क्षतिका कारण म्याग्दीको गलेश्वरमा गत असार २६ गतेको बाढीले बेलिब्रिज बगाउँदा मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद भएको तथा मनाङ जोड्ने सडक समेत अवरुद्ध रहेकाले अविलम्व मर्मत गरी सडक सम्पर्क स्थापित गराउन मन्त्रालयलाई निर्देशन दिए ।

उनले बाढी पहिराका कारण सडक सम्पर्क विच्छेद भएका मनाङ र मुस्ताङ जिल्लामा तत्काल सडक सुचारु गर्न तथा नहर, कुलो, खानेपानी लगायतमा पुगेको क्षतिबाट जनजीवन प्रभावित भएकाले विपद्का बेला ‘फास्ट ट्रयाक’बाट काम गर्न सरकारलाई आग्रह गरेका हुन् ।

बैठकमा मन्त्री बस्नेतले सडक लगायतका पूर्वाधारमा पुगेको क्षति मर्मत र पुर्नःनिर्माणका लागि मन्त्रालयमा छुट्टै बजेट नभएको बताउँदै आन्तरिक मामिला मन्त्रालय मातहतको विपद् व्यवस्थापन कोषमा बजेट निकासा गरी तत्कालै काम शुरु गर्ने प्रतिवद्धता जनाए ।

मुस्ताङमा यातायात सञ्चालनका लागि सङ्घीय सरकारका प्राविधिकहरुसँग समेत समन्वय भइरहेको र हाल बेलिब्रिज राख्ने काम निरन्तर जारी रहेकाले एक÷दुई हप्तामा काम सम्पन्न हुने विश्वास मन्त्री बस्नेतको छ ।

चालू आर्थिक वर्षमा बजेटमा परेका सडक, सिँचाई तथा खानेपानीका योजनाहरुको मर्मत सम्भार तत्काल शुरु गर्ने तयारी गरेपनि निरन्तरको वर्षाका कारणले कठिनाइ भएको बताउँदै मन्त्री बस्नेतले भने,“बजेट परेका योजनामा वर्र्षा रोकिएलगत्तै काम हुन्छ , नपरेका ठाउँमा विपद् कोषबाट समेत आवश्यक बजेट ल्याएर काम गछौँ, खानेपानी र बत्तीको तत्कालै व्यवस्थापन हुन्छ ।”

समितिका सदस्य चन्द्रमोहन गौचनले तीन सातादेखी सडक सम्पर्क विच्छेद हुँदा मुस्ताङमा खाद्य सङ्कट शुरु हुन लागेको र जनजीवन अस्तव्यस्त भएको बताउँदै सङ्कट हल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा समितिका सदस्यहरु हरिशरण आचार्य, मीनबहादुर गुरुङ, डोबाटे विश्वकर्मा,सरीता गुरुङ लगायतले विपद्को प्रभावकारी सामना गर्दै अवरुद्ध क्षति पुगेका पूर्वाधारका काम अघि बढाउन माग गरेका थिए । मन्त्रालयका सचिव इश्वरचन्द्र मरहठ्ठाले क्षतिको विवरण संकलनको काम जारी रहेको बताए ।

Comments
Loading...