कोरोना जोखिम बढ्दो, पोखरामा दुई जना सङ्क्रमितको मृत्यु

पोखरा,२ भदौ । पोखरामा उपचारका क्रममा कास्की र तनहुँका एक÷एक जना कोरोना सङ्क्रमितको मृत्यु भएकको छ । पछिल्लो समय पोखरा सहित गण्डकी प्रदेशमा कोरोना संक्रमण बढिरहेको छ ।

पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको आज विहान १०ः४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।

गत साउन ३२ गते उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आई उनी अस्पतालको इमर्जेन्सी विभागमा उपचारका लागि आएका थिए ।
कोरोना पुष्टि भएपछि उनलाई सोमबार अस्पतालको कोभिड उपचार केन्द्रमा राखि उपचार भइरहेकामा मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुुरुषमा कोरोना सहित मधुमेह,प्रेसर लगायतका रोगको समस्या रहेको बताइन्छ ।

त्यसैगरी तनहुँको व्यास नगरपालिका–१ का ५० वर्षीया महिलाको पोखरा स्थित कास्की सेवा हस्पिटलमा उपचारको क्रममा गएराति ११ः३५ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

हेपाटाइटिस,निमोनिया,सुगर, प्रेसर तथा मुटुको समस्याले गत साउन ३१ गते अस्पताल भर्ना भएकी उनको हिजो विहान पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा राति ९ः०० बजे नतिजा पोजिटिभ आएको थियो ।

त्यसअघि दमौलीमा सामान्य उपचारपछि उनलाई पोखरा रेफर गरिएकामा आइसीयूमा राखेर उपचार भइरहेको थियो ।यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Comments
Loading...