“पत्रकारलाई जागिरबाट निकाल्दा जनताको आवाज बन्द हुन्छ”

पोखरा,१८ साउन । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारलाई जागिरबाट निकाल्ने, आधा तलब दिने तथा बेतलवी बिदामा बस्न दवाव दिँदा जनताको आवाज बन्द हुने बताएका छन् ।

बन्दाबन्दीपछि सञ्चार क्षेत्रको अवस्था अध्यनका लागि आएको महासङ्घको केन्द्रीय मिसन टोलीले आज जिल्लास्थित ‘फ्रि मिडिया नेटवर्क’सँगको अन्तरक्रियामा उनले कोभिड–१९ पछि स्वरोजगारमूलक तथा साना लगानीका सञ्चार माध्यममा भन्दा वर्षोदेखी सञ्चालित व्यावसायिक सञ्चार माध्यमका सञ्चारकर्मी बढी समस्यामा रहेको उल्लेख गरे ।

महासङ्घले अहिलेको समस्या सम्वोधनका लागि संस्थागत ढङ्गबाट पहल गरेको र आफै भित्रै छलफल गरेर समस्या समाधानका लागि रु एक करोडको आपत्कालीन राहत कोष सञ्चालनमा ल्याइएको उनले बताए ।

सञ्चार क्षेत्रका समस्या सम्वोधनका लागि अल्पकालीन र दीर्घकालिन योजना बनाउनुपर्ने र नविकरण छुट, सेवामुलक उद्योग मानेर सहुलियतपूर्ण ऋण सञ्चारगृहलाई उपलव्ध गराउन सरकारसँग माग गरिएको आचार्यको भनाई छ ।

महासचिव रमेश विष्टले पत्रकारिताको माध्यमबाट भएका द्धन्द्धलाई घटाउन फ्रि मिडिया नेटवर्कले सघाउने विश्वास व्यक्त गर्र्दै देशका ७७ वटै जिल्लामा नेटवर्क पु¥याउने योजना रहेको सुनाए ।

केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले छापा सञ्चार माध्यम जोगाउनु अहिले चूनौती रहेकाले समाजका सबै तह र तप्काले सहयोग गर्नुपर्ने जोड दिएका थिए । प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले पत्रकारितामा केही वर्षयता मात्र प्रवेश गरेका सञ्चारकर्मी कोभिड–१९ का अवस्थामा बढी प्रभावित भएको बताए ।

नेपाल बार एशोसिएसनका अध्यक्ष मुक्ति शर्माले पत्रकारिता समाजको ऐना भएकाले कोभिड १९ देखी सबै खालका प्रकोपमा सञ्चार माध्यमले जनतालाई सचेत गराउनुपर्ने आवश्यकता औँल्याए । इन्सेकका प्रतिनिधि सवनम शर्माले बन्दाबन्दीका अवधिमा बालविवाह, बलात्कार, आत्महत्या लगायतका घटनाहरु बढि रहेकाले सञ्चार माध्यमको ध्यान जानुपर्ने बताइन् ।

छलफलमा सहभागिहरुले असहज अवस्थामा सञ्चारको भूमिका अझ बढी हुने भएकाले सञ्चार माध्यमले आधिकारिक र तथ्यपूर्ण सूचना तथा जानकारी प्रभावित गर्नुपर्नेमा जोड दिएका थिए ।कोरोनाका सम्वन्धमा गाउँघरमा अझ बढी त्रास रहेकाले सचेत बनाउनुपर्ने जिम्मेवारी समेत सञ्चार माध्यमको भएको उनीहरुको भनाई छ ।

सञ्चार क्षेत्रका सरोकारवालाहरु, राज्यपक्ष, नागरिक समाज र पत्रकारहरुकाबीचमा नियमित संवाद र पत्रकार सुरक्षा विरुद्धका घटना न्यूनीकरणको उद्धेश्य सहित महासङ्घको केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा ‘फ्रि मिडिया नेटवर्क’ गठन गरिएको र अहिलेको अवस्थामा सञ्चार क्षेत्रले भोग्नु परेको अवस्थाका बारेमा छलफल गरिएको नेटर्वकका संयोजक समेत रहेका कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

केन्द्रीय मिसन टोलीले शनिबार र आइतबार समेत जिल्लाका सञ्चारकर्मी लगायतसँग अहिलेको अवस्थामा बारेमा छलफल गरेको थियो ।

Comments
Loading...