पोखरामा विदेशी पर्यटकलाई हतियार देखाएर लुटपाटको प्रयास गर्ने दुई जना पक्राउ

हिमाली आवाज । देशको पर्यटकीय राजधानी पोखरा घुम्न आएका जर्मन नागरिक ६७ वर्षीय एन्ट पिटर नार्जिनलाई घरेलु हतियार देखाई लुटपाटको प्रयास गर्ने दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ«े गाउँपालिका–८ का २४ वर्षीय नविन विक र तनहुँको व्यासनगरपालिका –५ का २१ वर्षीय विशाल दर्लामी रहेका छन् ।

पोखरा–२२ स्थित फेवाताल पारीको अनदुमा आइतबार विहान एक्लै हिँडिरहेका जर्मन नागरिक नार्जिनलाई दुई जनाले घरेलु हतियार देखाई दुव्र्यवहार गरेको तथा लुटपाटको प्रयास गरेको सूचनापछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“पर्यटकलाई धारिलो हतियार देखाएर अभद्र व्यवहार गरिएको भन्ने सूचना प्राप्त भएलगत्तै प्रहरी परिचालन गरिएको थियो । सोही क्रममा घटनामा संलग्न उनीहरुलाई खुकुरी सहित नियन्त्रणमा लिन सफल भयौँ । विदेशी पर्यटकको अवस्था सामान्य रहेको छ । ”
प्रनाउ बस्नेतले पर्यटकीय राजधानीमा स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाउने र कँही त्यस्ता घटनाहरु भएमा तुरुन्त दोशीलाई नियन्त्रणमा लिन प्रहरी सक्षम रहेको समेत बताउनुभयो ।

पक्राउ परेका दुबै जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट एक थान धारिलो हतियार खुकुरी समेत नियन्त्रणमा लिएको प्रनाउ बस्नेतले जानकारी दिनुभयो ।

Comments
Loading...