–कृष्ण दवाडी
हिमाली आवाज । ‘टीका, जमरा र चङ्गा चेट,पोखरामा पर्यटकसँग दशैँ भेट’ भन्ने नारासहित वडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा भोली(आइतबार) दशैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदैछ ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा फेवाताल किनार बाराही घाटमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक उमा भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार दशैँको सांस्कृतिक र पारिवारिक माहोललाई पर्यटनसँग जोड्दै ‘दशैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ पहिलोपटक गर्न लागिएको हो ।
महोत्सव अघि विहान खहरेचोकदेखि बाराहीघाटसम्म साँस्कृतिक तथा पर्यटन प्रर्वद्धन ¥यालीको आयोजना गरिएको छ । ¥यालीमा पञ्चेबाजा, विभिन्न पर्यटनसम्वद्ध संघसंस्था, आमा समूह, स्थानीय समुदाय, साँस्कृतिक समूह तथा अन्य सरोकारवालाहरुको सहभागिता रहनेछ ।
“दशैँलाई पारिवारिक पर्वमा मात्र सीमित नराखी विदेशी पर्यटकलाई समेत नेपाली संस्कृति, परम्परा, खानपान र जीवनशैलीसँग प्रत्यक्ष जोड्ने अवसरका रूपमा यो महोत्सव गर्न लागेका हौँ । महोत्सवका सबै तयारी सकिएको छ । ” संयोजक भण्डारीले भन्नुभयो ।
महोत्सवमा पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिने तथा विभिन्न जातजाति र समुदायका मौलिक सांस्कृतिक प्रस्तुति देखाइनेछ । महोत्सवमा लोप हुन लागेको कबड्डी खेल, स्वदेशी तथा विदेशी पर्यटक दौड, मालश्री धुन लगायतका सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
नेपाली मौलिक खानाका परिकार, कला–संस्कृति, परम्परागत सामग्री, स्थानीय उत्पादन तथा पर्यटनसम्बद्ध व्यवसायिक गतिविधि पनि महोत्सवमा समेटिने भण्डारीले बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले दशैँलाई पर्यटनसँग जोडेर पोखरामा महोत्सव आयोजना गर्नु यहाँको संस्कृति र पर्यटनलाई एकसाथ अगाडि बढाउने अवसर भएको बताउनुभयो ।
“दशैँ हाम्रो मौलिक संस्कृति र परम्परासँग जोडिएको पर्व हो। यसलाई पर्यटनसँग जोडेर देश–विदेशबाट आएका पर्यटकलाई हाम्रो संस्कृति अनुभव गराउन सकिन्छ । यसबाट विदेशीले समेत हाम्रो संस्कृतिको अनुभव गर्न पाउनेछन् । ”भुजेलले भन्नुभयो ।
ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले पोखराको संस्कृति र पहिचानलाई पर्यटकीय उत्पादनका रूपमा चिनाउने अवसर महोत्सवमा मिल्ने बताउनुभयो ।
ओटेफका अध्यक्ष ममता न्यौपानेले पोखराको प्राकृतिक सुन्दरतासँगै यहाँको कला, संस्कृति र परम्परालाई पनि पर्यटक माझ पु¥याउन महोत्सव सफल हुने बताउनुभयो ।
“हामीले पर्यटकलाई पोखरा घुमाउने मात्रै होइन, पोखराको संस्कृति अनुभूति गराएर फर्काउने वातावरण बनाउनुपर्छ । ” उहाँले भन्नुभयो ।
महोत्सवमार्फत नेपाली मौलिकता अन्तर्राष्ट्रिय पर्यटकमाझ पु¥याउन सकिने भन्दै उहाँले सबै पर्यटनसम्बद्ध संस्था, व्यवसायी, सञ्चारजगत् र सम्पूर्णको साथ आवश्यक रहेको बताउनुभयो ।


Comments