दशैँमा शोकमा डुब्यो माझठाना, कसैले पनि लगाएनन् टीका र जमरा

–कृष्ण दवाडी
हिमाली आवाज । वर्षमा एकपटक आउने दसैँमा सबैका घरमा टीका र जमराको रौनक छाउँछ । आफन्तको जमघट, घरघरमा टीका लगाउने चहलपहल र गाउँभरि लिङ्गे पिङको उल्लास दसैमा हुन्छ ।
तर, यस वर्ष पोखरा महानगरपालिका–२८ स्थित माझठानामा दसैँले खुसी ल्याउन सकेन । न घरघरमा टीका लाग्यो, न गाउँमा चौडाली र लिङ्गे पिङको रौनक देखियो। असोज २३ गते बिहान भएको स्कुल बस दुर्घटनालेगाउँ शोकमा डुब्यो ।

त्यसमाथि दुर्घटनामा गम्भीर घाइते भएकी १६ वर्षीया अस्मि कँडेलको टीकाको अघिल्लो दिन उपचारका क्रममा काठमाडौँमा मृत्यु भयो । टीकाकै दिन उनको शव घर ल्याइपु¥याउँदा गाउँको पीडा झन् गहिरियो ।
घटस्थापनाको दुई दिनअघि भएको उक्त दुर्घटनाले माझठानावासीलाई स्तब्ध बनाएको थियो । सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस ओख्लेभीरमा दुर्घटना हुँदा छ जनाले ज्यान गुमाएका थिए भने १३ जना विद्यार्थी घाइते भएका थिए। आफ्ना सन्तान तथा आफन्त गुमाउनुपरेको असह्य पीडा र दुर्घटनामा घाइते बालबालिकाको अवस्थाले गाउँलेलाई यस वर्ष दसैँको उत्सव मनाउन मन लागेन ।

पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेका अनुसार गाउँका सबै टोलले सामूहिक निर्णय गरेर यस वर्ष दसैँको टीका नलगाउने निर्णय गरेका थिए । घटनामा घाइते भएर उपचार गराइरहेकी विद्यार्थींको शव टीकाकै दिनमा घर ल्याइपु¥याउँदा गाउँमा थप सन्नाटा छाएको वडाध्यक्ष लामिछानेले बताउनुभयो ।

“यस्तो कहालीलाग्दो घटना यसअघि कहिल्यै भएको थिएन। चाडपर्वको मुखमा भएको दुःखद घटनाले कसैलाई पनि दसैँ मनाउने मन भएन । कसैले आफ्ना बालबालिका गुमाउनुपरेको छ भने कतिपय टोलमा दुर्घटनामा घाइते भएका बालबालिका छन्। यस्तो पीडाको अवस्थामा गाउँलेले टीका मात्र नलगाउने निर्णय गरेनन्, टोलटोलमा राखिने लिङ्गे पिङ पनि राखिएनन् र शुभकामना आदानप्रदानका कुनै कार्यक्रम भएनन् । ” वडाध्यक्ष लामिछानेले भन्नुभयो।

दसैँका दिन सधैँ चहलपहल हुने राखी–मिजुरे सडकसमेत यसपटक सुनसान रह्यो। विगतका वर्षमा दसैँको टीका लगाउन र आफन्त भेट्न आउनेजानेको भीड लाग्ने माझठानामा यस वर्ष भने न पर्वको उमङ्ग देखियो, न उत्सवको चहलपहलनै । जसका कारण सडक देखी गाउँ सबै सुनसान बने ।

Comments
Loading...