सार्दिखोला साहित्य चौतारी र सृजना साहित्य सदनबीच साहित्यिक हातेमालो

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२, भुर्जुङ्खोलामा सार्दिखोला साहित्य चौतारी र सृजना साहित्य सदन, घाचोकबीच साहित्यिक हातेमालो तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

सार्दिखोला साहित्य चौतारीको आयोजनामा नियमित रचना वाचन कार्यक्रमको दोस्रो शृङ्खलाअन्तर्गत शनिबार आयोजित कार्यक्रममा दुवै संस्थाका पदाधिकारी, साहित्यकार तथा स्रष्टाहरूले कविता, लघुकथा, बालकथा, मुक्तक, नाट्य प्रस्तुति र पुस्तक समीक्षा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यिक संस्थाहरूबीच सहकार्य, साहित्यिक प्रकाशन, संस्थागत विकास, सिर्जनाको संरक्षण तथा अभिलेखीकरणका विषयमा विचार र अनुभव आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा सृजना साहित्य सदनका पूर्व अध्यक्ष टेकनाथ पीडितले साहित्यिक पत्रपत्रिका प्रकाशनका लागि आवश्यक सुझाव प्रस्तुत गर्दै साहित्यिक सिर्जनाको संरक्षण, अभिलेखीकरण तथा प्रचारप्रसारमा जोड दिनुभयो । कुल गुरुङले प्रकृति र यसको महत्त्व समेटिएको कविता वाचन गर्नुभयो । शुक्लागण्डकी साहित्य सदनसँग आबद्ध सूर्य लम्सालले व्यक्तिपूजाको प्रवृत्ति, राजनीतिक सुशासन र साहित्यिक विषयवस्तु समेटिएका विचार तथा कविता प्रस्तुत गर्नुभयो ।

त्यसैगरी प्रतीक आचार्यले नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजईको आत्मकथात्मक कृति ‘म हुँ मलाला’ को समीक्षा प्रस्तुत गर्नुभयो । पुस्तक समीक्षामार्फत कृतिको अध्ययन, विश्लेषण र त्यसबाट प्राप्त ज्ञानलाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने अभ्यासलाई कार्यक्रममा महत्त्व दिइएको थियो ।

सङ्गीता केसीले ‘डल्लिमाया’ शीर्षकको लघुकथा र दसैँसँग सम्बन्धित अर्को लघुकथा प्रस्तुत गर्नुभयो । रामजी आचार्यले कविता वाचन गर्नुभयो भने शुक्लागण्डकी साहित्य सदनसँग आबद्ध राजाराम पौडेलले साहित्य प्रकाशनसम्बन्धी सुझाव दिनुका साथै मुक्तक प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा सन्तोष आचार्यले ‘छिरिङको कथा’ शीर्षकको बालकथा सुनाउँदै बालसाहित्यको महत्त्व र बालबालिकामा पठन संस्कृतिको विकास गर्नुपर्ने आवश्यकतामाथि प्रकाश पार्नुभयो ।

सृजना साहित्य सदन, घाचोककी अध्यक्ष मेनका आचार्य पोखरेलले साहित्यिक संस्थाहरूको इतिहास, योगदान र भावी सम्भावनाबारे विचार व्यक्त गर्दै कविता वाचन गर्नुभयो । हर्कबहादुर घर्तीले हिन्दी कविता प्रस्तुत गर्नुका साथै त्यसको भाव नेपाली भाषामा व्याख्या गर्नुभयो । सदनका निवर्तमान अध्यक्ष शिवप्रसाद पोखरेलले दुई संस्थाबीच सम्बन्ध सुदृढ बनाउँदै साहित्यिक अनुभव र विचार आदानप्रदान गर्ने अवसर प्राप्त भएकामा खुसी व्यक्त गर्नुभयो ।

सार्दिखोला साहित्य चौतारीका अध्यक्ष छविलाल आचार्यले साहित्यिक संस्थाको स्थापना, सञ्चालन र निरन्तरताको महत्त्वमाथि प्रकाश पार्दै साहित्यिक गतिविधिलाई नियमित रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय प्रतिभाको पहिचान, नयाँ स्रष्टालाई प्रोत्साहन तथा साहित्यिक संस्थाहरूबीच सहकार्य विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले दसैँसँग सम्बन्धित कविता वाचन गर्दै कार्यक्रममा सहभागी सृजना साहित्य सदनका प्रतिनिधिप्रति आभारसमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा भानुभक्त पोखरेल ‘अविरल’ले रचना हस्तान्तरणसम्बन्धी नाट्य प्रस्तुति प्रस्तुत गर्नुभयो । उहाँले बाढीपहिरोबाट उत्पन्न विपद् र त्यसले निम्त्याउने पीडालाई समेटिएको ‘त्यो कालदिवस’ शीर्षकको कविता पनि वाचन गर्नुभयो । उहाँले साहित्यिक संस्थाले आफ्नै जग्गा तथा भवन निर्माण गर्ने दीर्घकालीन लक्ष्यसहित योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । संस्थामा रहेका सम्भावना र क्षमताको पहिचान गरी सामूहिक प्रयासबाट लक्ष्य हासिल गर्न सकिने धारणा राख्दै उहाँले विद्यालयका शिक्षक तथा विद्यार्थीलाई साहित्यिक सिर्जना र वाचनमा प्रोत्साहित गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमले स्थानीय स्तरमा साहित्यिक सिर्जना, पठन संस्कृति र संस्थागत सहकार्यको महत्त्व उजागर गरेको सहभागीहरूको भनाइ थियो । यस्ता कार्यक्रमले नयाँ प्रतिभाको पहिचान, स्रष्टालाई प्रोत्साहन तथा भाषा र साहित्यको संरक्षणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

सार्दिखोला साहित्य चौतारीले प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रचना वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ । दोस्रो शृङ्खलाका रूपमा आयोजित यस कार्यक्रमले दुई संस्थाबीच आपसी सिकाइ, अनुभव आदानप्रदान र सिर्जनात्मक सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

कार्यक्रम सार्दिखोला साहित्य चौतारीका अध्यक्ष छविलाल आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । संस्थाका सचिव सन्तोष कुमार आत्रेयले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Comments
Loading...