हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरीले अपराध नियन्त्रणमा दृढता अनुुसन्धानमा निष्पक्षता, सेवा प्रवाहमा संवेदनशिलता र कानुन कार्यान्वयनमा निर्भिकता प्रस्तुत गर्न सक्नुपर्ने बताउनुभएको छ ।
७१ औँ प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले आज आयोजना गरेको मूल समारोहको उद्घाटन गर्दै उहाँले कानुनी शासन स्थापना गर्न आफ्नो जिम्मेवारी कुशलतापूर्वक प्रहरीले निर्वाह गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
“ जनताका आवश्यकता, अपेक्षा र चूनौती समेत बदलिएको परिस्थितिमा प्रहरीले आफ्नो कायैशैली र अनुसन्धान क्षमतालाई समयानुकल बनाउँदै लैजानुपर्नेछ । निष्पक्षता, संवदेनशिलता र कानुनको प्रभावकारी कार्यान्वयनमा निर्भिकता पूर्वक प्रस्तुत हुन प्रहरी संगठन सफल होस् भन्ने कामना गर्दछु । ” मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।
प्रविधिको विकास सँगै साइबर अपराध, संगठित अपराध, लागू औषध कारोबार, बालबालिका तथा महिला माथि विभिन्न माध्यबाट हिँसा बढेकाले त्यसको न्यूनीकरणलाई प्राथमिकता दिन उहाँले आग्रह गर्नुभयो ।
प्रदेश सरकारले प्रहरीलाई विभिन्न प्रकारको सहयोग गर्दै आएको र चाूल आवमा समेत प्रहरीका लागि रु ११ करोड ५८ लाख बजेट विनियोज गरेको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो ।
खोज तथा उद्धारमा संयुक्त परिचालन, सूचना आदानप्रदान, राहत वितरण तथा अस्थायी व्यवस्थापन, विपद्पछिको पुनःनिर्माण कार्यमा प्रहरी र प्रदेश सरकारबीचको सहकार्यले राहत, उद्धार र पुनःस्थापना कार्य प्रभावकारी बनेको उहाँले बताउनुभयो ।

“प्रदेश सरकारले नेपाल प्रहरीलाई भौतिक पूर्वाधार, ट्राफिक उपकरण तथा सवारी साधन खरिद, विभिन्न तालिममा वित्तिय सहयोग गर्दै आएको छ । यसका साथै विपद्पछिको उद्धार तथा खोजमा प्रयोग हुने सामग्रीमा सहयोग गर्दे आएका छौँ । ” मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।
प्रहरी सुरक्षा संयन्त्र मात्र नभई नागरिकले दुःख पर्दा सबै भन्दा पहिले सम्झिने भरोशायोग्य निकाय समेत रहेको उहाँले बताउनुभयो । बाढी पहिरो, हिमपहिरो लगायतका विपद्का घटनाले हरेकवर्ष ठूलो जनधनको क्षति गर्ने गरेको र विपद्का समयमा नागरिकले पहिले राज्यको उपस्थिति खोज्ने र यसमा प्रहरीले प्रभावकारी भूमिका खेलेको मुख्यमन्त्रीले उल्ल्ेख गर्नुभयो । “जोखिम मोलेर नागरिकको उद्धारमा खटिने प्रहरीको भूमिका सेवा भाव प्रेरणा र स्मरण योग्य छ । ” मुख्यमन्त्रीले पाण्डेले भन्नुभयो ।
पोखरा महानगर प्रमुख धनराज आचार्यले प्रहरीले परिस्थिति अनुसार सुधार गर्दै ‘जनताको साथी प्रहरी’, ‘मुस्कान सहितको सेवा’ लगायतको कार्य गर्दै आएको बताउनुभयो । प्रविधि विकासले अपराधका प्रकृति बदलिएको बताउँदै उहाँले जनतासँग प्रत्यक्ष र पहिलो चरणमा जोडिएको प्रहरीको मनोवल कमजोर बनाउन नहुने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख दीपेन्द्रबहादुर जिसी, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल,पूर्वप्रहरी संगठन गण्डकीका अध्यक्ष खिमलाल पराजुली लगायतले प्रहरीको भूमिका र जिम्मेवारी अझ बृद्धि भएकाले जनताको मन जित्ने गरी प्रहरीले काम गर्नुपर्ने बताउनुभएको थियो । सो अवसरमा पूर्व प्रहरी कर्मचारी, अमर प्रहरी तथा विभिन्न खोज तथा उद्धारमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रहरीलाई सम्मान गरिएको थियो ।
