पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री सहित दुई जनाको मृत्यु

हिमाली आवाज । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका–१७ निवासी १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा–१७ विरौटामा बस्दै आएका ४५ वर्षीय पैदलयात्री कृष्ण कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरा महानगरपालिका–१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्गको पोखरा–बुटवल सडकखण्डमा विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले आज बिहान अन्दाजी ७ बजे बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

त्यसपछि अनियन्त्रित भएको मोटरसाइकल सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको थियो । घटनापछि स्थानीय र प्रहरीले उद्धार गरी दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पासवानले जानकारी दिनुभयो ।

Comments
Loading...