बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट हेलिकोप्टरमार्फत एक हजार बढी नागरिकको उद्धार

हिमाली आवाज । बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ । आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

यसमध्ये ७० जना विदेशी नागरिक रहेका उहाँले बताउनुभएको छ । बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पुर्‍याएसँगै सो क्षेत्रमा रहेका नागरिक फसेका थिए । नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरुलाई उद्धार गरिएको शर्माले बताउनुभयो ।

उहाँका अनुसार बाढी गएको पहिलो दिन आइतबार प्रभावित क्षेत्रका ९६ जनाको उद्धार भएको थियो । सोमबार ३२१ र मङ्गलबार १८६ जनाको उद्धार भएको हो । बुधबार भने ४४१ जनाको उद्धार भएको सहायक प्रजिअ शर्माको भनाइ छ ।

उद्धारसँगै राहत वितरणको काम पनि तीव्र पारिएको उल्लेख छ । सरकार र विभिन्न सङ्घसंस्थाको सहयोगमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार, जेनेरेटरलगायत राहत सामग्री वितरण भइरहेको सहायक प्रजिअ नेत्रप्रसाद शर्माले बताउनुभएको छ । बाढीले सडक सञ्जालसँगै पदमार्ग कटान गरेपछि उद्धार र राहतमा हेलिकोप्टर प्रयोग गर्नुपरेको उहाँ बताउनुहुन्छ ।

“राहत वितरण गर्नका लागि पनि हेलिकोप्टरकै प्रयोग भइरहेको छ । यताबाट उद्धार गर्न जाने हेलिकप्टरले राहतका सामग्री लाने र उताबाट आउँदा मान्छेलाई उद्धार गरेर ल्याउने गरेको छ”, उहाँले भन्नुभयो ।

Comments
Loading...