पोखरामा शनिबार टीभीएस अपाचे रेसिङ क्वालिफायर हुने

हिमाली आवाज । मोटरसाइकल रेसिङप्रेमी तथा राइडरलाई लक्षित गर्दै पोखरामा यही कात्तिक १४ गते शनिबार ‘टीभीएस अपाचे रेसिङ एक्सपिरियन्स जीपी क्वालिफायर’ आयोजना हुने भएको छ ।

पोखरा महानगरपालिका–१५, फलेपाटनस्थित पञ्चरत्न ड्राइभिङ स्कुलमा बिहान ९ बजेदेखि सुरु हुने प्रतियोगितामा सहभागी राइडरले रेसिङसम्बन्धी व्यावहारिक प्रशिक्षणसँगै आफ्नो सीप र क्षमता प्रदर्शन गर्ने अवसर टिभिएसको पोखराको आधिकारिक बिक्रेता स्क्वायर्स मोटर्सका प्रवन्ध निर्देशक विनोज पोटेले जानकारी दिनुभयो । उहाँका अनुसार सात प्रदेशका २० सहरमा सञ्चालन हुने यस प्रतियोगितामार्फत उत्कृष्ट राइडर छनोट गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी गराउने लक्ष्य राखिएको छ ।

प्रतियोगिता १६०, २०० र ३१० सिसी गरी तीन विधामा सञ्चालन हुनेछ । पोखरामा हुने छनोट चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने राइडर काठमाडौंमा आयोजना हुने राष्ट्रिय फाइनलका लागि छनोट हुनेछन् । राष्ट्रिय फाइनलबाट छनोट हुने राइडरले भारतको मद्रास इन्टरनेसनल सर्किटमा नेपालका तर्फबाट प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी राइडरले प्रमाणित रेसिङ प्रशिक्षकबाट आवश्यक सीपसम्बन्धी प्रशिक्षणसमेत प्राप्त गर्नेछन् । आयोजकका अनुसार सहभागीलाई हेल्मेट, राइडिङ ज्याकेट, जुत्तालगायत आवश्यक सुरक्षा सामग्री उपलब्ध गराइनेछ ।

प्रतियोगितामा सहभागी हुन एक हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । कार्यक्रमस्थलमा उपस्थित भई चेक–इन गरेपछि उक्त रकम पूर्ण रूपमा फिर्ता गरिने आयोजकले जनाएको छ । प्रतियोगिता अवलोकन गर्न चाहने दर्शकका लागि भने प्रवेश निःशुल्क हुनेछ ।

पोखरा तथा आसपासका मोटरसाइकल राइडर र मोटरस्पोट्र्सप्रेमीलाई प्रतियोगितामा सहभागी हुन आयोजकले आह्वान गरेको छ । इच्छुक राइडरले कार्यक्रमको प्रचार सामग्रीमा रहेको क्यूआर कोड स्क्यान गरी नाम दर्ता गर्न सक्नेछन् ।

Comments
Loading...