पोखरामा यू–१९ राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

हिमाली आवाज । नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण मंगलबारदेखी पोखरामा सुरु भएको छ ।आगामी एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको तयारीस्वरूप टोलीको बन्द प्रशिक्षण पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सुरु भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको तयारीका लागि प्रारम्भिक चरणमा २८ खेलाडी छनोट गरी पोखरा क्रिकेट मैदानमा बन्द प्रशिक्षण सञ्चालन गरेको हो ।
एसिया कप आगामी कात्तिक १९ देखि २८ गतेसम्म ओमानमा आयोजना हुँदैछ । टोलीले पोखरामा पाँच दिन प्रशिक्षण गर्नेछ । सो क्रममा चार वटा अभ्यास खेल समेत खेल्ने प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।पोखरामा सञ्चालन भएको बन्द प्रशिक्षणबाट खेलाडीको क्षमता र प्रदर्शन मुल्याङ्कन गरी १४ सदस्सीय अन्तिम टोली छनोट गरिनेछ ।
पोखरा रङ्गशालाको क्रिकेट मैदान पछिल्लो समय उमेर तथा सिनियर राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि रोजाइमा पर्ने गरेको छ । काठमाडौँ स्थित क्रिकेट मैदानमा निरन्तरजस्तो प्रतियोगिता हुने गरेकाले बन्द प्रशिक्षणका लागि पोखरा छनोट पर्ने गरेको हो ।
“पोखराको वातावरण र यहाँको मैदानका कारणले बन्द प्रशिक्षण तथा अभ्यास खेलका लागि समेत छनोटमा पर्ने गरेको छ । यसबाट यहाँको क्रिकेट खेल विकास र प्रवद्र्धनमा सहयोग पुगेको छ । ” प्रादेशिक क्रिकेट संघका अध्यक्ष सिग्देलले भन्नुभयो ।
बन्द प्रशिक्षणका लागि पोखरा आएको टोलीलाई कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष दीपेन्द्र प्रताप चन्द लगायतले पोखरा रङ्गशालामा स्वागत गर्नुभएको थियो ।
ओमानमा आयोजना हुने यू–१९ एसिया कपमा नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । नेपालले पहिलो खेल कात्तिक २० गते भारतसँग खेल्नेछ ।

Comments
Loading...