गुल्मीकाे कालीगण्डकीमा स्कार्पियो गाडी दुर्घटना, ६ जनाको मृत्यु

हिमाली आवाज ।  गुल्मीको कालीगण्डकी गाउँपालिका–२, दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कार्पियो सोमबार दिउँसो करिब ४ बजे कालीगण्डकी करिडोर सडक खण्डबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो ।दुर्घटनामा परी मृत्यु हुनेमा स्कार्पियो चालक वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल वालिङ बस्दै आएका लोकनाथ पाण्डे, सोही ठाउँकी सीता पाण्डे र कालीगण्डकी गाउँपालिका १ सिरकोट घर भई हाल बुटवलको खैरेनी बस्दै आएका कुलानन्द पाण्डे रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी निता बगालेको उपचारका क्रममा कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।गुल्मीको कालीगण्डकी गाउँपालिका १, सिरकोटका छविलाल पाण्डे, गोमता पाण्डे र वालिङ नगरपालिका १० का बालकृष्ण सुवेदी घाइते छन् । छविलाल र गोमताको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ । तीमध्ये छविलालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, बालकृष्णलाई कालीगण्डकी सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि पोखरा रेफर गरिएको छ ।दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी पुर्तिघाट, इलाका प्रहरी कार्यालय रिडी र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली उद्धारका लागि खटिएको थियो ।प्रहरीका अनुसार दुर्घटनाको कारणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...