हिमाली आवाज । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५ औँ महाधिवेशनमा प्रतिस्पर्धामा पराजित भएका तथा जिम्मेवारी नपाएका सबैलाई समेटेर अघि बढ्ने बताउनुभएको छ ।
पोखरामा मंगलबार बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले आयोजना गरेको सम्मान कार्यक्रमको उद्घाटन गर्दै उहाँले पार्टीको आन्तरिक जीवनमा सीमित पदका लागि जिम्मेवारीका लागि भएको प्रतिस्पर्धालाई आम चुनाव जसरी लिन नहुने बताउनुभयो । उहाँले ऊर्जा र अनुभवको संयोजनसहित जनतामाझ पार्टी जाने समेत स्पष्ट पार्नुभयो ।

“पार्टी जीवनमा भएको प्रतिस्पर्धालाई आम चुनावमा जस्तो जित्नेले पाँच वर्ष शासन चलाउने र पराजित हुने प्रतिपक्षमा बस्ने जस्तो होइन । पार्टीको चुनाव त्यस्तो होइन, पार्टीमा सबैले ठाउँ पाउनुपर्छ । केहीले जिम्मेवारी पाउनुभएको छ ,कतिपय प्रतिस्पर्धामा छुट्न्ुभएको छ । उहाँहरुलाई समेत समेटेर लैजानुपर्नेछ ।” सभापति थापाले भन्नुभयो ।
उहाँले प्रतिस्पर्धाको तिक्तता छोडेर पार्टीसँग टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न कांग्रेसले विशेष संवाद अभियान सञ्चालन गर्नु समेत जानकारी दिनुभयो ।
सभापति थापाले भन्नुभयो, “दुई लाखभन्दा बढी परिवारहरु अहिले हामीसँग अलग हुनुभएको छ । ती अलग भएका परिवारलाई हामीले खोज्नुप¥यो । उहाँहरुसँग संवाद गर्नुप¥यो ।”
पार्टीमा २० देखि ८० वर्षसम्मका चार पुस्ता क्रियाशील रहेको उल्लेख गर्दै सभापति थापाले पाका नेताको अनुभव र युवाहरुको ऊर्जाको संयोजनबाट मात्र नतिजा हासिल हुने स्पष्ट पार्नुभयो ।
आफ्नो चार वर्षे कार्यकालमा निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले नेताहरुलाई भड्किलो शैली त्यागेर गाउँ–गाउँमा खटिन निर्देशन दिनुभयो । आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको सम्पूर्ण अधिकार तल्लो तहलाई दिइने सभापति थापाले बताउनुभयो । सभापति थापाले नेपाली कांग्रेसमा रहेर विशिष्ट योगदान पुर्याउनुभएका गण्डकी प्रदेशका ११ जिल्लाका एक÷एक जनालाई सम्मान गर्नुभएको थियो ।
सम्मातिन हुनेहरुमा नवलपुरका सुमित्रादेवी खनाल, गोरखाका राममणि धिताल, लमजुङका नवीन बानियाँ, तनहुँका झपटबहादुर केसी, मनाङका पेम्बा दोर्जे लामा, कास्कीका कृष्णबहादुर कुँवर, स्याङ्जाका शालिकराम न्यौपाने, पर्वतका बलभद्र शर्मा, बागलुङका हरिप्रसाद श्रेष्ठ, म्याग्दीका पृथ्वीमान छन्त्याल र मुस्ताङका सोनम धोर्जे विष्ट हुनुहुन्छ । उहाँहरुलाई जनही रु २५ हजारसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

