गण्डकी सहित केही प्रदेशमा आज मेघगर्जन र चट्याङसहित बर्षा हुने

काठमाडौँ,२२ साउन । आज दिउँसो गण्डकी प्रदेश सहित अन्य चार प्रदेशका केही स्थानमा मेघगर्जन सहित वर्षा हुने मौसम पूर्वानुमान विभागले जनाएको छ ।मनसुन सक्रिय गराउने न्यून चापीय रेखा फेरि नेपालतर्फ नजिकिंदै गएको मौसमविदले बताएका छन् ।

हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको न्यून चापीय रेखा फेरि नेपालतर्फ नजिक हुने सम्भावना देखिएको मौसमविदले जानकारी दिएका छन् । न्यून चापीय रेखा जति नेपाल नजिक भयो उति नै बढी बर्षाको सम्भावना हुने गर्छ ।

जल तथा मौसम विज्ञान विभागले आज (बिहीबार)बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । गण्डकी प्रदेश, प्रदेश– ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा हल्का बर्षा भइरहेको बुलेटिनमा जनाइएको छ ।

बिहीबार दिउँसो देशभर सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश–५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा प्रदेश–१, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, बागमती, गण्डकी र प्रदेश–५ का एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

Comments
Loading...