पोखरा रात्रिकालीन सडक दौडलाई वडा नं ९ को पाँच लाख सहयोग

हिमाली आवाज । पोखरामा आयोजना हुने दोस्रो संस्करणको ‘पोखरा रात्रिकालीन सडक दौड प्रतियोगिता–२०८३’ लाई सफल बनाउन पोखरा महानगरपालिका वडा नं ९ ले रु पाँच लाख सहयोग गर्ने भएको छ ।

‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ भन्ने नारासहित आगामी पुस १० गते आयोजना हुने प्रतियोगिताका लागि वडाले चालु आर्थिक वर्षको बजेटमा रु पाँच लाख विनियोजन गरेको वडा अध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिनुभयो ।

पोखराको पर्यटन प्रवर्द्धन, खेलकुद संस्कृतिको विकास र रात्रिकालीन पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन वडाले आर्थिक तथा भौतिक सहयोग गर्ने उहाँले बताउनुभयो ।

प्रतियोगिता सञ्चालनका लागि वडा नं ९ र आयोजक पोखरा प्रवर्द्धन केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ । वडा अध्यक्ष मर्सानीले ‘म बनाउँछु मेरो वडा’ भन्ने अवधारणाअनुसार वडाको पहिचान, पर्यटन प्रवर्द्धन र सामाजिक गतिविधिलाई जोड्ने सिर्जनात्मक कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो ।

वडा सचिव मीना भुजेलले पोखराको खेल पर्यटनमा नयाँ आयाम थप्ने कार्यक्रम भएकाले यसको सफलताका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रतियोगिताका संयोजक दिननाथ बरालले गत वर्षदेखि सहकार्य गर्दै आएको वडा नं ९ ले यस वर्ष थप सहयोग गरेकामा खुसी व्यक्त गर्नुभयो । पहिलो संस्करणमा सानो कार्यक्रमका रूपमा सुरु गरिएको प्रतियोगितालाई यस वर्ष विधा विस्तार, पुरस्कार वृद्धि र व्यवस्थापकीय सुधारसहित बृहत् रूपमा आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा हुने प्रतियोगितामा खुला, महिला, विद्यार्थी (यू–१६), विदेशी र भेट्रान्स गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ । पाँच किलोमिटर दूरीको दौड पोखराको बाराहीघाटबाट सुरु भई अन्तर्राष्ट्रिय झण्डा पार्क (फल्चा) मा पुगेर समापन हुनेछ ।

दौड सेन्टर प्वाइन्ट, हल्लनचोक, जरेवर, जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्युरोड, चिप्लेढुङ्गा र महेन्द्रपुल हुँदै झण्डा पार्क पुग्ने आयोजकले जनाएको छ ।

पहिलो संस्करणमा नर्वे, थाइल्यान्ड, फ्रान्स, इङ्ग्ल्यान्डलगायत पाँच देशका १४५ धावक सहभागी भएका थिए । यस वर्ष सहभागीको सङ्ख्या र अन्तर्राष्ट्रिय आकर्षण थप बढ्ने आयोजकको अपेक्षा छ ।

प्रतियोगिताका विभिन्न विधाका विजेतालाई नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरिनेछ । दौड पूरा गर्ने सबै सहभागीलाई डिजिटल प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जनाएको छ । यस वर्ष भेट्रान्स विधा थप गरिएको छ भने पुरस्कार राशि पनि वृद्धि गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब रु १७ लाख ९० हजार खर्च लाग्ने अनुमान गरिएको पोखरा प्रवर्द्धन केन्द्रका सचिव सागर सुनारले जानकारी दिनुभयो । उक्त रकम जुटाउन सरकारी निकाय, सङ्घसंस्था, निजी क्षेत्र तथा पर्यटन व्यवसायीसँग सहकार्य र सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

पोखरालाई दिनमा मात्र नभई रातमा पनि जीवन्त, सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चिनाउने लक्ष्य प्रतियोगिताले लिएको आयोजकले जनाएको छ । खेलकुद र पर्यटनलाई जोडेर आयोजना गरिने यस्ता कार्यक्रमले पर्यटकको बसाइ लम्ब्याउन तथा होटल, रेस्टुरेन्ट, यातायात र स्थानीय व्यवसायको आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Comments
Loading...