पोखरामा ‘आरयू फेस्ट’को तयारी पूरा, हरित उद्यमका उत्पादन प्रदर्शनी गरिने

हिमाली आवाज । पोखरामा दिगो फोहोर व्यवस्थापन, पुनःप्रयोग तथा पुनर्चक्रणमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘आरयू फेस्ट २०२६’ को तयारी पूरा भएको छ ।

पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा मङ्सिर २ र ३ गते पोखरा इभेन्ट सेन्टरमा फेस्ट आयोजना हुन लागेको हो ।

‘रि–थिङ्क २०२६ ः फ्रम वेस्ट टु वर्थ’ भन्ने नारासहित आयोजना हुन लागेको यो फेस्टको दोस्रो संस्करण हो । पोखरा महानगरपालिकामा सञ्चालित रिसाइकल तथा अपसाइकलमार्फत हरित रोजगारी सिर्जना परियोजना (जीसीआरयू) अन्तर्गत फेस्ट आयोजना गर्न लागिएको हो ।

फेस्टमा रिसाइकल तथा अपसाइकल उद्यमीले उत्पादन गरेका सामग्रीको प्रदर्शनी तथा बिक्रीका लागि विभिन्न स्टलको व्यवस्था गरिएको छ । यसले रिसाइकलर, अपसाइकलर, पर्यटन व्यवसायी, निजी क्षेत्र तथा सर्वसाधारणबीच सम्बन्ध र सहकार्य विस्तार गर्नुका साथै उद्यमीलाई बजार पहुँच र बिक्रीको अवसर प्रदान गर्ने नगरप्रमुख धनराज आचार्यले बताउनुभयो ।

फेस्टमा आरयू उद्यमका उत्पादन तथा नवीन अभ्यासको प्रदर्शनीसँगै दिगो फोहोर व्यवस्थापन, चक्रीय अर्थतन्त्र र प्लास्टिक प्रदूषण न्यूनीकरणका विषयमा जनचेतनामूलक गतिविधि सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, विद्यार्थीलाई सिकाइ र अनुभव आदानप्रदानको अवसर प्रदान गरिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताउनुभयो । पोखरामा ग्रीन भेन्चर जोन (जीभीजेड) को अवधारणालाई प्रवद्र्धन गर्दै आरयू उद्यमी तथा नवप्रवर्तक विद्यार्थीलाई लगानी र व्यवसाय विस्तारका अवसरसँग जोड्ने योजना रहेको उहाँले बताउनुभयो ।

फेस्टमार्फत आरयू उद्यमका उत्पादनको बजार विस्तार, हरित उद्यमशीलताको प्रवद्र्धन तथा निजी र पर्यटन क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । यसबाट चक्रीय अर्थतन्त्र र प्लास्टिक प्रदूषण न्यूनीकरणका उपायबारे सर्वसाधारणको बुझाइसमेत बढ्ने आयोजकको विश्वास छ ।

परियोजनाअन्तर्गत सन् २०२५ मा गरिएको प्रतिबद्धताअनुसार तीन हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । साथै, विस्तारित उत्पादकको दायित्व (ईपीआर) सम्बन्धी नियामकीय अनुगमन र संवादलाई पनि परियोजनाले प्राथमिकता दिएको छ ।

आरयू फेस्टलाई पोखराको वार्षिक कार्यक्रमका रूपमा स्थापित गर्दै हरित उद्यमशीलता, वातावरण संरक्षण र दिगो आर्थिक विकासको साझा मञ्च बनाउने आयोजकको लक्ष्य रहेको छ ।

Comments
Loading...