कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते पोखरामा, १६ सय प्रतिनिधि सहभागी हुने

हिमाली आवाज । नेपाली कांग्रेसको देउवा समूहले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । प्रदेशको नयाँ नेतृत्व चयनका लागि हुने अधिवेशनमा एक हजार छ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् ।
अधिवेशन आयोजक समितिले आज पोखरामा पत्रकार सम्मेलन गरी अधिवेशनको मिति र कार्यतालिका सार्वजनिक गरेको हो । अधिवेशनको उद्घाटन मंसिर ५ गते पोखरा सभागृहमा हुनेछ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिनुभयो ।
अधिवेशनको बन्दसत्र तथा निर्वाचन प्रक्रिया मंसिर ६ गते पोखरा महानगरपालिका–९, बाँस्तोलाथरस्थित सिल्भर पार्टी प्यालेसमा सञ्चालन गरिनेछ ।
गण्डकी प्रदेशका उपसभापति एवं अधिवेशन मूल समारोह समितिका संयोजक मेखलाल श्रेष्ठले अधिवेशनमा एक हजार छ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशका ३६ निर्वाचन क्षेत्रबाट २१ जनाका दरले प्रतिनिधि सहभागी हुनेछन् भने १८ संघीय निर्वाचन क्षेत्रबाट ३५ जनाका दरले छ सय ३० जना केन्द्रीय महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।

यसैगरी, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापति, प्रदेशका ८५ वटै स्थानीय तहका पार्टी सभापति, सभापतिबाट मनोनीत ४० जना प्रदेश प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा प्रदेश र सङ्घीय सांसदको समेत सहभागिता रहने श्रेष्ठले बताउनुभयो ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये हालसम्म पाँच जिल्लामा अधिवेशन सम्पन्न भई नेतृत्व चयन भइसकेको केन्द्रीय सदस्य बरालले जानकारी दिनुभयो । उहाँका अनुसार कास्कीमा ऋषिराम काफ्ले, पर्वतमा यमबहादुर मल्ल (रामकृष्ण), स्याङ्जामा इन्द्र गोदार, म्याग्दीमा हिराबहादुर पुन र मनाङमा गीता गुरुङको नेतृत्वमा जिल्ला कार्यसमिति निर्विरोध चयन भएको छ ।

बाँकी छ जिल्लाको अधिवेशन पनि प्रदेश अधिवेशनअघि नै सम्पन्न गर्ने तयारी गरिएको बरालले बताउनुभयो । निर्धारित कार्यतालिकाअनुसार नवलपुरमा कात्तिक २८ गते, लमजुङमा मङ्सिर १ गते, तनहुँमा मङ्सिर २ गते तथा बागलुङ र गोरखामा मङ्सिर ३ गते जिल्ला अधिवेशन हुनेछ । मुस्ताङमा पनि छिट्टै अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

अधिवेशनका लागि आवश्यक व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको उपसभापति श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रचारप्रसार, आर्थिक व्यवस्थापन, भोजन, अतिथि स्वागत, सांस्कृतिक कार्यक्रम तथा मञ्च व्यवस्थापनलगायतका उपसमिति गठन गरी तयारी अघि बढाइएको छ ।
अधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न गर्न नेपाल बार एसोसिएसनका पूर्वकेन्द्रीय उपाध्यक्ष एवं अधिवक्ता वीरेन्द्र केसीको संयोजकत्वमा प्रदेश निर्वाचन समिति गठन गरिएको आयोजकले जनाएको छ ।

Comments
Loading...