हिमाली आवाज । गाउँमा बसेर के गर्न सकिन्छ ? आफ्नै ठाउँमा रोजगारी र पैसा कसरी कमाउन सकिएला ? कास्कीको माछापुच्छ«े गाउँपालिका–८ लुम्रेका विद्यार्थीले यस्ता प्रश्नको उत्तर खोज्न थालेका छन् ।
माछापुच्छ«े र मर्दी हिमालको काखमा रहेको लुम्रेका विद्यार्थीले गाउँमा उपलब्ध स्रोतसाधनको उपयोग गरेर विभिन्न व्यवसाय सञ्चालन गर्न सकिने सम्भावना पहिल्याएका छन् ।
तारेबराह आधारभुत विद्यालयमा आयोजित उद्यमशीलता सम्बन्धी अन्तरक्रियामा उनीहरूले बाँसका सामग्री उत्पादनदेखि होमस्टे, कृषि पर्यटन र लघु जलविद्युत् उत्पादन सम्मका योजना सुनाए भने गाउँमै सीप सिक्ने अवसरको समेत माग गरे ।
“हाम्रा गाउँका युवाहरूले सामान्य कम्प्युटर सीप सिक्नकै लागि पोखरा धाउनुपर्ने र १२ हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ । हामीलाई गाउँमै कम्प्युटर तालिम, सीपमूलक कार्यक्रम र आफ्नै व्यवसाय सुरु गर्न आवश्यक सहयोग चाहिएको छ।” तारेबराहकी पूर्व विद्यार्थी सुगन श्रेष्ठले भन्नुभयो ।
श्रेष्ठले उद्यमशीलता सम्बन्धी अभिमुखीकरण कार्यक्रम निरन्तर सञ्चालन गरेर आफ्नै गाउँमा सिक्ने, गर्ने र उद्यमी बन्ने अवसर चाहिएको बताउनुभयो ।
तारेबराह सहित गौरी शंकर मनिलाल माध्यमिक विद्यालय, निश्पक्ष माध्यमिक विद्यालय र बराह माध्यमिक विद्यालयका ३७ जना विद्यार्थी सहभागी कार्यक्रममा अमेरिकाको युनिभर्सिटी अफ कोलोराडो बोल्डरका प्राध्यापक तथा उद्यमी टम भिर्डेन र सामुदायिक विकास अभियन्ता लोइस श्याननले सहजीकरण गर्नुभएको थियो ।
विद्यार्थीले आफ्नै गाउँमा सम्भावना देखेका व्यवसायका योजना पनि प्रस्तुत गरे । बाँसबाट विभिन्न सामग्री बनाउने, अल्लोको रेशाबाट कपडा तथा हस्तकलाका सामग्री उत्पादन गर्ने, स्थानीय संस्कृति र खानपानलाई समेटेर होमस्टे सञ्चालन गर्ने उनीहरूका योजना थिए ।

त्यस्तै गाउँमा उत्पादन हुने कोदो, धान, चिया, अलैँची, भाँगो र महको प्याकेजिङ तथा ब्रान्डिङ गरेर बजारमा पु¥याउन सकिने सम्भावनाबारे उनीहरुले चासो राखेका थिए । कृषि पर्यटन प्रवद्र्धन र वातावरणमैत्री लघु जलविद्युत् आयोजना सञ्चालन गर्ने विषयमा समेत विद्यार्थीले रुची देखाएका हुन् ।
प्राध्यापक भिर्डेनले उद्यम गर्न ठूलो पुँजी वा विशेष अवसर नै चाहिन्छ भन्ने सोच त्याग्न विद्यार्थीलाई आग्रह गर्नुभयो । आफू वरपरका समस्या र आवश्यकतालाई पहिचान गर्न सके त्यहीँबाट नयाँ व्यवसायको सुरुआत गर्न सकिने उहाँको भनाइ थियो ।
“उद्यमशीलता सुरु गर्नका लागि अहिलेभन्दा राम्रो समय अर्को हुन सक्दैन । पहिले आफ्नो गाउँ र समुदायलाई मूल्य दिनुहोस्, त्यसपछि समुदायले पनि तपाईंको कामको मूल्य बुझ्नेछ । ” उहाँले भन्नुभयो ।
सानो प्रयासबाट काम सुरु गर्ने, असफलताबाट सिक्ने, उपलब्ध स्रोतसाधनको उपयोग गर्ने र समुदायको आवश्यकता पूरा गर्ने सोच नै सफल उद्यमशीलताको आधार भएको उहाँले बताउनुभयो ।
तारेबराह आधारभूत विद्यालयकी प्रधानाध्यापक लक्ष्मी गुरुङले ग्रामीण क्षेत्रका विद्यार्थीलाई यस्ता कार्यक्रमले नयाँ सोच र आत्मविश्वास दिन सहयोग पुग्ने बताउनुभयो ।
उहाँले गाउँमै सूचना प्रविधिसम्बन्धी शिक्षा र अभ्यासको अवसर आवश्यक रहेको बताउँदै विद्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) स्थापनाका लागि सहयोगको अपेक्षा गर्नुभयो ।
“सामान्य कम्प्युटर सीप सिक्न पनि विद्यार्थीले खर्च गरेर पोखरा पुग्नुपर्ने अवस्था छ । विद्यालयमै आइसिटी ल्याब स्थापना गर्न सके आसपासका क्षेत्रका धेरै विद्यार्थी र युवा लाभान्वित हुनेथिए ।” प्रअ गुरुङले भन्नुभयो ।
कर्मफ्लाइट्स फाउन्डेसन नेपालका राष्ट्रिय निर्देशक प्रेमबहादुर कुँबरले गाउँमा अवसर छैन भन्दै बाहिरिनुपर्ने सोचलाई बदल्दै आफ्नै ठाउँका सम्भावना पहिचान गर्न सके गाउँमै उद्यम र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश कार्यक्रमले दिएको बताउनुभयो ।
फाउन्डेसनका केन्द्रीय सचिव कुलप्रसाद अधिकारी र कर्मसही घर्ती मगरको समन्वय तथा फिरन्तेज एक्सिपिडिशनका व्यवस्थापक पाउला र कुमार तामाङको स्थानीय सहजीकरणमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
