हिमाली आवाज । विश्व शान्ति, आध्यात्मिक जागरण र मानसिक रूपान्तरणको सन्देश फैलाउने उद्देश्यले पोखरादेखि गौतमबुद्धको जन्मस्थल लुम्बिनीसम्म ‘मनोक्रान्ति विश्व शान्ति ध्यानमय’ पदयात्रा आयोजना हुने भएको छ ।
विकासानन्द फाउण्डेशसनको आयोजनामा यही मङ्सिर ३ देखि १२ गतेसम्म पोखरादेखी लुम्बिनीसम्म २२० किमी दूरीको पदयात्रा हुन लागेको हो । पोखरा महानरपालिका–२३ बराङबाट सुरु हुने पदयात्रा स्याङ्जा, पाल्पा र रुपन्देही हुँदै लुम्बिनी पुगेर समापन हुनेछ ।
पदयात्राका क्रममा मङ्सिर ३ गते पोखराको बराङबाट स्याङ्जाको गुडीखोलासम्म यात्रा गरिनेछ । मङ्सिर ४ गते छाङ्छाङ्दी मन्दिर, ५ गते वालिङ र भकुण्डे, ६ गते मालुङ्गा उत्तरबाहिनी क्षेत्र, ७ गते आर्यभञ्ज्याङ, ८ गते पाल्पाको प्रभासस्थित ओशो ध्यान केन्द्र, ९ गते सिद्धबाबा मन्दिर हुँदै १० गते बुटवलबाट भैरहवा पुग्ने कार्यक्रम छ ।

त्यसैगरी मङ्सिर ११ गते भैरहवाबाट लुम्बिनी पुग्ने र १२ गते लुम्बिनीमा समापन समारोह आयोजना गरिएको मनोक्रान्ति पथ प्रदर्शक प्रख्यात आध्यात्मिक गुरु डा योगी विकासानन्दले जानकारी दिनुभयो । उहाँका अनुसार ‘संसारलाई बदल्नुछ, सुरु आफैबाट गर्नुछ’ भन्ने सन्देश सहित अशान्त मनलाई शान्त बनाउने उद्धेश्य सहित पदयात्रा गर्न लागिएको हो ।
“ ध्यानमय पदयात्रा भगवान् बुद्धले अभ्यास गर्नुभएको हिँड्दै गरिने ध्यान विधि हो । यसलाई चङ्क्रमण ध्यान विधि समेत भनिन्छ । जसमा प्रत्येक पाइलाको चाल, श्वास र वर्तमान क्षणप्रति सजग रहँदै मनलाई शान्त र एकाग्र बनाइन्छ । पदयात्रामा साधकहरुले सचेत रुपमा हिँड्ने, मनका विचार र भावनालाई नियाल्ने तथा सकारात्मक सोच र आत्मअनुसाशनको अभ्यास गर्छन् । ” डा योगी विकासानन्दले भन्नुभयो ।
आधुनिक जीवनशैलीका कारण बढ्दै गएको मानसिक तनाव, चिन्ता, निराशा, असुरक्षा र भावनात्मक असन्तुलनलाई सम्बोधन गर्न ध्यान तथा आध्यात्मिक अभ्यास आवश्यक रहेको उहाँले बताउनुभयो । “यसले व्यक्तिलाई आफूभित्रको चेतना बुझ्न नकारात्मक सोच त्याग्न र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास गरेका छौँ । ” विकासानन्दले भन्नुभयो ।
पदयात्रालाई आध्यात्मिक तथा ध्यानमय बनाउन विभिन्न स्थानमा योग, ध्यान र गुरुदेव प्रवचनका विशेष कार्यक्रम समेत राखिएका छन् । मङ्सिर ३ गते पोखराको विरौटामा बिहान योग तथा ध्यान कार्यक्रम हुनेछ ।
त्यसपछि वालिङको नेपाल आदर्श क्याम्पस, बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय, भैरहवास्थित मानववादी सेवा संघको कार्यालय र लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा पनि ध्यान तथा प्रवचन कार्यक्रम सञ्चालन गरिनेछ ।
मङ्सिर १२ गते दिउँसो ३ देखि ५ बजेसम्म गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा विशेष ध्यान तथा विश्व शान्ति दीप प्रज्वलन गरिने विश्व शान्ति ध्यानमय पदयात्रा व्यवस्थापन केन्द्रीय समितिका सहसंयोजक खगेन्द्र पराजुलीले जानकारी दिनुभयो । पदयात्रामा ४५ जना साधकहरु सहभागी हुने जनाइएको छ ।
