सेती नदी जलविद्युत आयोजनाको काम भदौदेखी पूर्ण क्षमतामा,तीन सय भन्दा बढी स्थानीयको लगानी

–कृष्ण दवाडी

पोखरा,२६ साउन ।  कोभिड–१९ रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीमै काम शुरु भएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना भदौदेखी पूर्र्ण क्षमतामा शुरु हुने भएको छ ।

माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलाको भराभरीमा गत वैशाखदेखी काम शुरु भएको आयोजनाको हाल ‘एप्रोच कल्भर्ड’ र पानी थिग्राउने पोखरी ‘सेटलिङ बेसिन’ को खन्ने काम भइरहेको छ । भदौ १५ देखी थप जनशक्ति, मेसिन तथा उपकरण प्रयोग गरेर निर्धारित समयभित्र आयोजना सक्ने गरी दुई सिफ्टमा सिभिलतर्फको काम तीव्रताका साथ अघि बढाइने आयोजनाको प्रवद्र्धक कम्पनी भिजन लुम्विनी उर्जा प्रालिले जनाएको छ ।

गत असार १ गते ‘जेनेरेशन लाइसेन्स’ प्राप्त भएको मितिले २७ महिनाभित्रमा आयोजनाबाट विद्युत उत्पादन गरिसक्ने लक्ष्य राखिएको छ ।विभिन्न बैँङ्क तथा वित्तिय संस्थाको रु तीन अर्व ५० करोड तथा कम्पनीको स्वपूँजी रु एक अर्व ५० करोड गरी रु पाँच अर्व लागतमा आयोजना शुरु गरिएको प्रवद्र्धक कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए । स्थानीयवासी ३२७ जनाले आयोजनामा  लगानी गरेका छन् ।

“लकडाउनले अरु आयोजना प्रभावित हुँदा समेत यस आयोजना अघि बढाउन सफल भयौँ,स्थानीयवासी,जनप्रतिनिधि तथा कम्पनीका व्यवस्थापक आयोजना सफल बनाउन खटिइरहनुभएको छ ।”अध्यक्ष पोखरेलले भने,“आगामी भदौ १५ देखी थप ३५० मजदूर परिचालन गरेर आयोजनाको पूर्ण क्षमतामा काम शुरु गर्ने योजनामा छौँ ।”

उनका अनुसार वातावरणीय प्रभाव मुल्याङ्कन(इआइए),जेनेरेशन लाइसेन्स पास भएको तथा आयोजनालाई आवश्यक पर्ने निजी साढे तीन हेक्टर जमिन मध्य ९० प्रतिशत प्राप्त भइसकेको र सरकारी १३ हेक्टर जमिन लिने प्रक्रिया समेत शुरु भइसकेको छ ।

अध्यक्ष पोखरेलले जेनेरेशन लाइसेन्स प्राप्त हुनुअघिनै आयोजनाको पाँच प्रतिशत हाराहारीमा काम सम्पन्न भएकाले समेत निर्धारित समयभन्दा अघिनै आयोजना सम्पन्न भएरु विद्युत उत्पादन शुरु हुनेछ ।

आयोजनाको डिजाइन गरेको हाइड्रो कन्सल्ट्यान्ट इन्जिीनियरिङका डिजाइन प्रमुख श्यामप्रसाद भुसालले नदी जल प्रवाहमा आधारित आयोजना रहेकाले सेती नदीको पानी पाँच मिटर बाँध बाँधेर एप्रोच कल्भर्डबाट  ६० मिटर लम्बाई ,२३ मिटर चौडाइको बेसिन २२ मिटर गहिरो पोखरीमा थिग्राएर पाइप मार्फत विद्युत गृहमा पठाइने जानकारी दिए ।

सेटलिङ बेसिनबाट सफा पानी भूमिगत पाइप बिछ्याएर पोखरा महानगरपालिका–१९सँग सीमा जोडिएको चिन्ते बगरमा निर्माण गरिने विद्युत गृहमा १८७ मिटर उचाइबाट खसालिने छ ।

सेटलिङ बेसिन रहने राजबगरबाट खारपानी,चिप्लेटी,चौरखरबारी,कसेरी गाउँ,राातोपानी हुँदा चिन्तेबगरमा निर्माण गरिने पावर हाउससम्मको दूरी छ किलोमिटर ४०० मिटर लामो छ । चिन्तेबगरमा विद्युतगृहका लागि आवश्यक जमिन अधिग्रहण तथा निर्माणको प्रक्रिया समेत शुरु भएको आयोजना सामाजिक क्षेत्र निर्देशक बमबहादुर गुरुङले  बताए ।

उत्पादित विद्युत प्रशारण लाइन मार्फत चार किमी दूरीमा रहेको गाउँपालिकाको वडा नं ४ लाहाचोकमा निर्माणाधीन सवस्टेशनमा जडान गरी राष्ट्रिय प्रशारण लाइनमा जडान हुनेछ ।  विद्युत वर्षायाममा छ महिना चार रुपैयाँ ८० पैसा र हिउँदयाममा आठ रुपैयाँ ४० पैसा प्रति युनिटमा विद्युत प्राधिकरणले खरीद गर्ने सम्झौता छ ।

आयोजनाको सिभिल वर्कको जिम्मा रसुवा लुना जेभीले पाएको थियो । रु एक अर्व २० करोड लागतमा २७ महिनाभित्रमा सम्पन्न गर्र्ने गरी गत माघमा सिभिल कन्स्ट्रक्सनको जिम्मा रसुवाले पाएको हो ।

जलविद्युत निर्माणबाट आफ्नो क्षेत्रको आर्थिक,सामाजिक तथा भौतिक विकास हुनेमा स्थानीयहरु समेत विश्वस्त छन् । वडा कार्यालय र प्रवद्र्धक कम्पनीकाबीच गत वर्ष वडाको सामाजिक विकास लगायतमा १४ बुँदै सम्झौता भएको थियो ।

स्थानीय स्रोत साधानको उपयोग बापत आयोजनाले वडालाई रोयल्टी बाहेक वार्षिक रु ९० लाख सहयोग उपलब्ध गराउने सहमति भएको वडाध्यक्ष विक्रम गुरुङले बताए ।

“जलविद्युत कम्पनीले यहाँको स्रोत परिचालन गरेबापत समाजका लागि वार्षिक ९० लाख रुपैयाँ दिनुपर्दछ भनेर सम्झौता गरेका छौँ, सो रकम वडाको सामाजिक, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रको विकासमा लगानी गर्नेछौँ ।” वडाध्यक्ष गुरुङले भने,“यसका साथै आयोजनामा लगानी गरेका स्थानीयवासीको लगानी सुरक्षित गर्नका लागि वडा कार्यालयले काम गरिरहेको छ ।”

Comments
Loading...